हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी परेका छन्, जसमध्ये एक जनाको मृत्यु भएको छ । स्थानीय बल बहादुर प्रजा (५५) ले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनी र उनका परिवारका सदस्यहरू बिरामी परेका थिए ।
मकवानपुर प्रहरीका अनुसार, बल बहादुर प्रजाको अवस्था गम्भीर थियो र उनलाई उपचारका लागि चितवन लगिएको थियो । तर, भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ६स्३५ बजे उनको मृत्यु भएको डाक्टरले घोषणा गरे ।
अन्य बिरामीहरूमा प्रजाकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु प्रजा, ८ वर्षीया छोरी सविना प्रजा र १० वर्षीय छोरा सुशल प्रजा रहेका छन् । उनीहरू सबैको अवस्था मध्यम रहेको र चितवनमा उपचार भइरहेको बताइएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक बृज किशोर साह गोढको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । घटनास्थल प्रहरी चौकी कान्द्राङबाट करिब ७ घण्टा पैदल दूरीमा रहेको छ ।
यस घटनाले जङ्गली च्याउ खानुको जोखिम बारे सचेत गराएको छ । स्थानीय अधिकारीहरूले जनतालाई अपरिचित जङ्गली च्याउहरू नखान सावधान गराएका छन् । प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।