काठमाडौं । पितृ मोक्ष र उद्धारका लागि आज साँझ देशभरका शिवालयमा बत्ती बालिने परम्परा रहेको छ । यो परम्परा पितृहरूको सम्झना र उद्धारका निम्ति प्रत्येक वर्ष मंसिर कृष्ण त्रयोदशी साँझ मनाइन्छ ।
शिवालयहरूमा भक्तजनहरूले ठूलो दियो, तामाको मानोमा घिउ वा तेल राखेर काँचो धाँगाको बत्ती बाल्ने गर्छन् । केहीले १२ हातको महादीपसमेत बाल्ने चलन छ । मुख्य बत्तीबाट अरू बत्ती सल्काएर रातभर निभ्न नदिई पालैपालो बत्ती कुरेर बस्ने परम्परा रहेको छ । बत्ती निभे मृत व्यक्तिलाई अप्ठ्यारो पर्ने विश्वास गरिन्छ ।
शिवालय क्षेत्रमा भक्तजनहरू रातभर जाग्राम बसेर भजनकीर्तन, नाचगान, र धुनी जगाउँदै रमाइलो गर्ने गर्छन् । बत्ती बालिसकेपछि भोलिपल्ट सूर्योदयअघि जलाशयमा बत्ती विसर्जन गर्ने प्रचलन छ ।
त्यस्तै, मंसिर कृष्ण चतुर्दशीको दिन परिवारका दिवंगत सदस्यहरूको चिरशान्तिका लागि सतबिज छर्ने गरिन्छ । धान, जौ, तिल, गहुँ, चना, मकै, र कागुनो मिसाएर छर्ने यो प्रथाले पितृहरूको पाप नाश हुने जनविश्वास छ ।
मृत्युपछिको तीन वर्षसम्म यो परम्परा पालना गरिने चलन छ । चतुर्दशीको दिन बत्ती बाल्नुअघि शुद्ध भएर स्नान गर्ने र हवन गर्ने परम्परा रहेको छ । यस परम्पराको उत्पत्तिका सम्बन्धमा एक किंवदन्ती पनि प्रचलित छ ।
प्राचीन समयमा, एक व्यक्तिले मृत व्यक्तिको गिदी खाएर राक्षस बनेपछि उसलाई पराजित गरी मृत आत्माको उद्धारका लागि सतबिज छर्ने र बत्ती बाल्ने परम्परा सुरु भएको मानिन्छ ।