काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१र८२ को साउनदेखि पुस मसान्तसम्मको तथ्याङ्क अनुसार देशभर बालबालिका हराउने क्रम बढ्दो रहेको छ । देशका सातवटा प्रदेशमा कुल ३,६९८ जना बालबालिका हराएका छन्, जसमा ३,१०६ जना फेला परेका छन् भने ५९० जना अझै बेपत्ता रहेका छन् । दुई जनाको मृत्यु भएको पनि तथ्याङ्कले देखाएको छ ।
बालक बेपत्ताको तथ्याङ्क
काठमाडौं उपत्यकामा २५० जना बालक बेपत्ता भएका छन्, जसमा २११ जना फेला परेका र ३९ जना अझै बेपत्ता रहेका छन् । कोशी प्रदेशमा १४२ जना बेपत्ता भएकामा १२५ जना फेला परेका र २४ जना अझै हराइरहेका छन् । मधेस प्रदेशमा १२१ जना बालक बेपत्ता भएका छन्, जसमा ९० जना फेला परेका छन् भने ३१ जना बेपत्ता छन् ।
बाग्मती प्रदेशमा ७१ जना बेपत्ता भएकामा ६६ जना फेला परेका र पाँचजना अझै हराइरहेका छन् । गण्डकी प्रदेशमा ७४ जना बालक हराएमध्ये ६४ जना फेला परेका, नौजना अझै बेपत्ता र एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशमा १८० जना हराएका छन्, जसमा १५६ जना फेला परेका र २४ जना अझै बेपत्ता छन् । कर्णाली प्रदेशमा ७२ जना बेपत्ता भएकामा ६७ जना फेला परेका र एक जनाको मृत्यु भएको छ भने सुदूरपश्चिममा १०९ जना बालक बेपत्ता भएकामा १०३ जना फेला परेका र छ जना अझै बेपत्ता छन् ।
बालिकाको अवस्था अझै भयावह
बालकको तुलनामा बालिकाको बेपत्ताको सङ्ख्या अझै बढी देखिएको छ । काठमाडौं उपत्यकामा ४१२ जना बालिका बेपत्ता भएकामा ३७२ जना फेला परेका र ४० जना अझै बेपत्ता छन् । कोशी प्रदेशमा ३५३ जना बेपत्ता भएकामा २९१ जना फेला परेका र ६२ जना अझै हराइरहेका छन् ।
मधेस प्रदेशमा सबैभन्दा धेरै ६४५ जना बालिका बेपत्ता भएकामा ४३७ जना फेला परेका छन् भने २०८ जना अझै हराइरहेका छन् । बाग्मती प्रदेशमा १९३ जना बेपत्ता भएकामा १७७ जना फेला परेका र १६ जना अझै बेपत्ता छन् । गण्डकीमा १८१ जना हराएकामा १५९ जना फेला परेका र २२ जना अझै हराइरहेका छन् ।
लुम्बिनीमा ४९३ जना बेपत्ता भएकामा ४१८ जना फेला परेका र ७५ जना अझै बेपत्ता छन् भने कर्णाली प्रदेशमा १५१ जना बेपत्ता भएकामा १४२ जना फेला परेका र नौजना अझै हराइरहेका छन् । सुदूरपश्चिममा २४४ जना बेपत्ता भएकामा २२८ जना फेला परेका छन् भने १६ जना अझै बेपत्ता रहेका छन् ।
बालबालिकाको सुरक्षामा गम्भीर ध्यान आवश्यक
तथ्याङ्क अनुसार बालकको तुलनामा बालिका हराउने क्रम बढी रहेको छ । बालक बेपत्ताको संख्या सबैभन्दा बढी काठमाडौं उपत्यकामा देखिएको छ भने बालिका बेपत्ताको संख्या सबैभन्दा धेरै मधेस प्रदेशमा छ ।
यस घटनाले बालबालिकाको सुरक्षाका लागि थप सजगता अपनाउनुपर्ने देखाएको छ । हराएका बालबालिकाको खोजी कार्यलाई प्रभावकारी बनाउन, सुरक्षाको उपायहरू बलियो पार्न तथा बेपत्ता हुने घटनालाई न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी निकायहरूबीच समन्वय आवश्यक रहेको छ ।