अपहरणमा परेका बाराका उद्योगी सुरेश केडिया आईतबार भारतको मोतिहारीबाट अपहरणमुक्त भएका छन् ।
भारतीय सुरक्षाकर्मीहरुले केडियालाई सकुशल अपहरण मुक्त गराएको र एक जना अपहरणकारी पनि पक्राउ परेको भारतीय टेलिभिजन आजतकले जनाएको छ ।
नेपाली र भारतीय प्रहरीको संयुक्त अपरेसनपछि भारतीय प्रहरीले उद्योगी केडियालाई लुकाइराखेको घरमा छापा मारेर मुक्त गरिएको हो । अपहरणकारीको साथबाट गाडी र हतियारसमेत बरामद भएको समाचारमा उल्लेख छ ।
नेपाली उद्योगी केडियालाई लिन नेपाल प्रहरीको टोली पनि वीरगञ्जबाट मोतिहारीतर्फ गएको छ । गत बिहीबार आफ्नो उद्योगबाट घर फर्कने क्रममा निजगढको जंगलमा ड्राइभरलाई गोली प्रहार गरी घाइते बनाएर अज्ञात समूहले केडियालाई अपहरण गरेका थिए ।