काठमाडौं । प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य सांग्रिला मोटर्स प्रालिले आधिकारिक रुपमा नयाँ ईभी लिपमोटर टी०३ लन्च गरेको छ। यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको बताइएको छ ।
सो अवसरमा बोल्दै सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे ।
लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवर ब्याट्री रहेको छ जसको डब्लुएलटीपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साइकलमा ३९५ किमी रहेको कम्पनीको भनाइ छ । यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ ।
‘हामी लिपमोटर टी०३ नेपालमा प्रस्तुत गर्न उत्साहित छौं, जसले दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ,’ सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान र लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै ब्रान्डको नेतृत्व, दृढता र उत्कृष्टताले यसको मूल्य झल्काउने बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
सांग्रिला मोटर्सले यो भन्दा पहिले नेपाली बजारमा लिपमोटर सी १० उपलब्ध गराइसकेको छ भने अहिले टी ०३ ल्याएको जनाइएको छ । सांग्रिला मोटर्स २०१७ देखि प्यूजोको र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको बताइएको छ ।