काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा आफूले गरेका काममा करिव ८० प्रतिशत सफलता प्राप्त गरेको दाबी गरेको छ । मन्त्रालयमा मंगलबार भएको आर्थिक वर्ष २०७८ र ०७९को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा बैठकमा प्रस्तुत तथ्याङ्क अनुसार मन्त्रालयले भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत रहेको दाबी गरिएको छ ।
बैठकमा ऊर्जा मन्त्री पम्फा भुसालले जलविद्युत् तथा प्रसारणलाइनको नियमित मर्मत संहारमा विशेष ध्यान दिनु पर्ने धारणा राखेकी छन् । उनले मर्मत संहार नियमित नगर्दा पछि धेरै खर्च आउन सक्ने भन्दै नियमित मर्मतका लागि छुट्टै कोष खडा गर्न सकिने बताएकी छन् ।
ऊर्जा र सिँचाइका क्षेत्रमा अझै लगानी विस्तार गर्न जरुरी देखिएको भन्दै कृषि तथा औद्योगिक क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यस्तो आवश्यक रहेको औंल्याएकी हुन् । गत आवका समस्याको गम्भिर समीक्षा गर्दै अवका दिनमा अझै परिष्कृत तरिकाले नतिजामुखी काम गर्न मन्त्रालय र मातहतका निकायका उच्च अधिकारी तथा कर्मचारीलाई निर्देशन पनि दिएकी छन् ।