सर्लाही । सर्लाही जिल्लाको हरिवन नगरपालिका ५ किरिङ टोलमा आइतबार अपराह्न एक बालकको नहरमा डुबेर मृत्यु भएको छ । बागमती सिँचाइ आयोजनाको नहरमा गाउँका साथीहरूसँग नुहाउन गएका १६ वर्षीय सहमद मन्सुरको डुबेर ज्यान गएको हो । उनी स्थानीय जनिफ मन्सुरका छोरा हुन् ।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा बालकलाई ह्यूम पाइपबाट मृत अवस्थामा निकालिएको हो । बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।