काठमाडौं । दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त प्रवद्र्धन गर्ने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ।जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रमअन्तर्गत एसियाका चयनित देशहरूमा वित्तीय क्षेत्रको सामाजिक तथा पारिस्थितिकीय रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त साझेदारी गरिएको हो।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा। इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार दिगो बैंकिङ अभ्यासलाई संस्थागत र विस्तार गर्न परिaयोजनालाई दुई चरणमा कार्यान्वयन गरिनेछ। यसमार्फत हरित बैंकिङ अभ्यासलाई प्रभावकारी रूपमा बैंकको सेवा तथा सञ्चालन प्रणालीमा समावेश गरिने जनाइएको छ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो साझेदारी बैंकका लागि दिगो बैंकिङ अभ्यासको परिपक्वतातर्फको महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार साझेदार संस्थाको प्राविधिक सहयोग तथा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा बैंकले आफ्ना बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय अनुभव र अभ्यासअनुसार थप परिस्कृत गर्दै हरित वित्त, न्यून–कार्बन उत्सर्जन तथा दिगो एवं उत्थानशील उद्यमशीलता प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनले ‘ईएसजी रिस्क राडार’ र ‘सस्टेनेबल फाइनान्स कम्पास’ लगायत आफ्ना विशेष प्राविधिक उपकरण उपलब्ध गराई आवश्यक प्राविधिक सहयोग गर्नेछ। साथै ग्रामीण क्षेत्र तथा साना एवं मझौला उद्योगहरूको सशक्तीकरण र हरित उद्यम क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।
कुमारी बैंकले आफ्नो देशव्यापी सञ्जालमार्फत यस रूपान्तरणकारी पहललाई विस्तार गर्ने जनाएको छ। हाल बैंकले देशभर २८६ शाखा, ३०३ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ तथा १,१०० भन्दा बढी पीओएस टर्मिनलमार्फत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकका अनुसार ग्राहक–केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनलाई प्राथमिकतामा राख्दै गरिएको यो सहकार्यले नेपालको दिगो आर्थिक विकास तथा स्वच्छ र जलवायु–उत्थानशील भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


