Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, १९
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना

काठमाडौँ । नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनी काइरोस हेलिक्स स्थापना गरेकी छन्। कम्पनीले जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट सिर्जना हुने ज्ञानलाई कसरी संकलन, एकीकृत र प्रयोग गर्ने भन्ने प्रक्रियालाई रूपान्तरण गर्ने उद्देश्य राखेको जनाएको छ।

क्लिनिकल ट्रायलका क्रममा ठूलो मात्रामा प्रोटोकल, प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांक तथा विशेषज्ञका निर्णयहरू सिर्जना हुन्छन्। तर, महत्वपूर्ण ज्ञान प्रायः विभिन्न प्रणालीमा विभाजित भएर रहने भएकाले अनुसन्धानकर्ता तथा संस्थाहरूले विगतका ट्रायलबाट प्रभावकारी रूपमा सिक्ने र त्यसबाट प्राप्त ज्ञानलाई भविष्यका अध्ययनमा प्रयोग गर्ने क्षमतामा सीमितता देखिने गरेको बताइएको छ।

यस चुनौतीलाई सम्बोधन गर्न काइरोस हेलिक्सले आर्टिफिसियल इन्टेलिजेन्स, तथ्यांकशास्त्र तथा प्रमाणमा आधारित प्रणालीहरूको संयोजनमार्फत संचित क्लिनिकल ट्रायलसम्बन्धी ज्ञानलाई प्रयोगयोग्य बौद्धिक सूचनामा रूपान्तरण गर्ने प्रविधि विकास गरिरहेको जनाइएको छ। कम्पनीले आफ्नो प्रविधिगत दृष्टिकोण्मा मूल प्रमाणको संरक्षण र मानव निगरानीलाई विशेष प्राथमिकता दिँदै,विशेषगरी नियमनको दायरामा रहेका तथा उच्च जोखिमयुक्त क्लिनिकल अनुसन्धानसम्बन्धी निर्णयहरुमा सावधानीपूर्वक काम गर्ने नीति अपनाएको बताइएको छ।

कम्पनीका अनुसार,कम्पनीले हालसम्म २५ सदस्यीय टोली गठन गरिसकेको छ भने क्लिनिकल ट्रायल इन्टेलिजेन्ससम्बन्धी कार्यशील प्लेटफर्म विकास गरिसक्नुका साथै कन्ट्र्याक्ट रिसर्च अर्गनाइजेसन्स तथा जैव प्रविधि कम्पनीहरूसँग व्यावसायिक सहकार्यसमेत प्रारम्भ गरिसकेको  छ ।  काइरोस हेलिक्सले क्लिनिकल ट्रायल योजना, अनुसन्धान केन्द्र सिफारिस, सिन्थेटिक डाटा तथा नियमनयुक्त आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा ११ वटा प्रोभिजनल प्याटेन्ट एप्लिकेसन्स समेत दर्ता गरिसकेको जनाइएको छ।

कम्पनीको दृष्टिकोण अधिकारीको गणित, इन्जिनियरिङ, उद्यम प्रविधि तथा क्लिनिकल अनुसन्धान क्षेत्रमा रहेको बहुआयामिक अनुभवबाट आकार लिएको हो। १६ वर्षको उमेरमा नेपालबाट अमेरिका पुगेकी अधिकारीले गणित र प्रविधिप्रतिको आफ्नो रुचिलाई निरन्तर अगाडि बढाउँदै विभिन्न क्षेत्रमा काम गरिन्, जसले उनलाई क्रमशः क्लिनिकल अनुसन्धानका जटिलतासँग नजिकबाट परिचित गराएको बताइएको छ ।

सन् २०२४ मा, प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा गरेको कामका लागि अधिकारीलाई फार्माभोइस १०० मा समेत सम्मानित गरिएको थियो भने यसले प्रविधि र जीवन विज्ञान क्षेत्रको अन्तरसम्बन्धमा उनले पुर्‍याएको योगदानलाई थप उजागर गरेको जनाइएको छ।

क्लिनिकल अनुसन्धान क्षेत्रमा प्राप्त अनुभवबाट अधिकारीले एउटा महत्वपूर्ण तथ्य पहिचान गरिन्, जुन पछि काइरोस हेलिक्सको मूल उद्देश्यको आधार बन्यो। क्लिनिकल ट्रायलले के भयो भन्ने विषयलाई व्यवस्थित रूपमा अभिलेख गर्ने भए पनि महत्वपूर्ण निर्णयहरू किन गरिए भन्ने पछाडिको ज्ञान, तर्क तथा निर्णय प्रक्रियालाई भविष्यमा प्रभावकारी रूपमा पुनःप्रयोग गर्न सकिने गरी सधैं अभिलेखित गरिएको हुँदैन।

कम्पनीका अनुसार,यही अन्तरलाई सम्बोधन गर्न काइरोस हेलिक्सले विभिन्न अध्ययन तथा क्लिनिकल ट्रायलबाट संचित ज्ञानलाई सुरक्षित राख्ने, एकअर्कासँग जोड्ने र त्यसबाट सिक्न सकिने प्रणाली विकास गरिरहेको  छ। यसले क्लिनिकल अनुसन्धान संस्थाहरूलाई विगतका अध्ययनबाट प्राप्त ज्ञानलाई व्यवस्थित रूपमा भविष्यका अनुसन्धानमा प्रयोग गर्न सक्षम बनाउने लक्ष्य राखेको जनाइएको छ।

नेपालबाट अमेरिकासम्मको अधिकारीको यात्राबाट प्रेरित काइरोस हेलिक्सले क्लिनिकल अनुसन्धानको आगामी पुस्तामा योगदान पुर्‍याउने लक्ष्य लिएको बताइएको छ। कम्पनीले विगतका क्लिनिकल ट्रायलबाट प्राप्त ज्ञानलाई व्यवस्थित रूपमा भविष्यका अध्ययनका लागि उपयोगी बौद्धिक सूचनामा रूपान्तरण गर्न सहयोग गर्दै जीवन विज्ञान क्षेत्रलाई थप ज्ञान–आधारित अनुसन्धान प्रणालीतर्फ अघि बढाउने लक्ष्य राखेको  कम्पनीले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स