Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २३
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ भने भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको पनि नेपालमा प्रभाव परेको छ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली (अधिकांश बादल लागेको) तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति भने देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ।

त्यस्तै मधेश र कोशी प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो, गेग्रान बहाव, बाढी तथा भू-क्षयको जोखिम छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवम् उद्धार र राहत कार्यमा असर पर्न सक्ने भएकाले महाशाखाले सबैलाई सतर्क रहन र अद्यावधिक सूचना पालना गर्न अनुरोध गरेको छ।

Top Changing Nepal

युट्युब सट्स