Jankari Kendra
४ कार्तिक २०८३, मंगलवार

एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, ४
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा उक्त प्रविधि समावेश गरिने जनाएको हो।

डीआरएस लागू भएसँगै खेलका क्रममा अम्पायरले गरेका निर्णयलाई प्राविधिक माध्यमबाट पुनरावलोकन गर्न सकिनेछ। प्रतियोगितामा एलबीडब्लू निर्णय जाँच गर्न फूल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ भने रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयमा समेत पुनरावलोकनको सुविधा रहनेछ।

त्यसैगरी, बल ब्याटमा लागेको वा नलागेको पत्ता लगाउन कृत्रिम बुद्धिमत्तामा आधारित एज डिटेक्सन प्रविधि प्रयोग गरिने क्यानले जनाएको छ। बलको उचाइका आधारमा वाइडको निर्णय परीक्षण गर्न सकिने सुविधा पनि प्रतियोगितामा रहनेछ।

यसका अतिरिक्त छक्काको दूरी र उचाइ मापन गर्नुका साथै बलिङसम्बन्धी विभिन्न विश्लेषणात्मक तथ्याङ्कसमेत उपलब्ध गराइनेछ। एनपीएलमा पहिलोपटक डीआरएस समावेश गरिनुले प्रतियोगितामा प्रविधिको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ।

Top Changing Nepal

युट्युब सट्स