पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले एघारौँ गाउँ सभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने बताए । साथै ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने जनाइएको छ ।
सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न लागेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले सामाजिक सुरक्षा भत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गरिने बताए । साउन १ गतेबाटै मासिक रु. १ हजारका दरले वितरण गरिनेछ ।
यसैगरी, गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. ६४ करोड ९८ लाख छ हजार ५७० बराबरको बजेटसहित गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।