Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

आजदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा, यी दर्शकले पाउँछन् ‘चित्रा’ हेर्न निःशुल्क

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २७
आजदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा, यी दर्शकले पाउँछन् ‘चित्रा’ हेर्न निःशुल्क

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जसमा घनश्याम लामिछाने निर्देशित चित्रा र दीपक श्रेष्ठ निर्देशित पर्खी बसेँ तिमीलाई प्रदर्शनमा आएका हुन् ।

आउँदो माघे संक्रान्तिलाई लक्षित गर्दै प्रदर्शन आएका यी दुई फिल्म फरक फरक विधामा आधारित रहेका छन् । फिल्म चित्रामा बाबुले छोरी बचाउन गर्ने सङ्घर्ष मात्रै नभएर सम्बन्ध, मित्रता, पारिवारिक उतारचढाव लगायतका कुरा समेटिएको छ । यो फिल्मको गत सोमबार प्रिमियर समेत गरिएको थियो ।

फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी सहित प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय रहेको छ ।

महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवम् संवाद लेखन छ । चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् ।

यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ । फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।

निर्माण टिमले चित्रा १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने घोषणा गरेका छन् । फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो ।

टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशुल्क भएपनि अभिभावकका लागि भने शुल्क लाग्ने छ । योसँगै चित्रा नाम भएकाले सो नामको प्रमाण पेस गरेमा ३ वटा टिकट निःशुल्क पाउने छन् ।

यस्तै, अर्को फिल्म ‘पर्खी बसेँ तिमीलाई’ युवापुस्ताको प्रेम र त्यसमा आउने उतार चढावलाई चित्रण गरिएको छ । फिल्मले धनाढ्य परिवारकी छोरी र पठाओ चलाएर जीवन चलाउँदै आएको एक युवाको प्रेम कथा प्रस्तुत गरेको छ । यस फिल्म मार्फत अभिनेत्रीमा रक्षा बुढाथोकी र अभिनेता किरण श्रेष्ठले अभिनयमा सुरुआत गरेका छन् ।

उनीहरूसँगै अनिसा रसाइलीको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यस फिल्ममा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यस फिल्मको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौं उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

Top Changing Nepal

युट्युब सट्स