काठमाडौं । संघीय निजामती सेवामा प्रवेश गर्ने उमेर सीमा घटाउने र अनिवार्य अवकाश उमेर सीमा बढाउने प्रस्तावसहितको विधेयक संसदमा पेश भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवा सम्बन्धी सर्तहरू समेटिएको विधेयकमा अब पुरुषको अधिकतम प्रवेश उमेर ३५ वर्ष र महिलाको हकमा ३९ वर्ष कायम गरिनेछ ।
हालको व्यवस्थाअनुसार, पुरुषका लागि ३५ वर्ष र महिलाका लागि ४० वर्षसम्म निजामती सेवामा प्रवेश गर्न पाइन्छ । तर, सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विधेयक र राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गत दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा गठित ११ सदस्यीय उपसमितिको प्रतिवेदन अनुसार महिलाको हकमा एक वर्ष घटाइएको छ ।
नयाँ प्रस्ताव अनुसार, अधिकृत तहको पदमा प्रवेश गर्न कम्तीमा २१ वर्ष पूरा भएको हुनुपर्नेछ भने पुरुषले ३५ वर्ष र महिलाले ३९ वर्ष ननाघेको हुनुपर्नेछ । सांसदहरूका अनुसार, ४० वर्षमा सेवा प्रवेश गर्दा पेन्सन सुविधा प्रभावित हुने भएकाले उमेर सीमा घटाइएको हो । सेवा अवधिमा कम्तीमा २० वर्ष काम नगर्दा पेन्सन पाउने आधार नपुग्ने भएकाले यो प्रस्ताव ल्याइएको जनाइएको छ ।
यसका साथै, निजामती सेवाबाट अनिवार्य अवकाशको उमेर हद पनि दुई वर्षले बढाइनेछ । हालको ५८ वर्ष उमेर हदलाई क्रमशः ६० वर्ष पुर्याउने व्यवस्था विधेयकको प्रतिवेदनमा उल्लेख छ ।
विधेयक अनुसार, ऐन प्रारम्भ भएको मितिबाट पहिलो ६ महिनासम्म ५८ वर्ष ६ महिना, त्यसपछिको एक वर्षसम्म ५९ वर्ष ६ महिना र त्यसपछिको ६ महिनाबाट पूर्णरूपमा ६० वर्ष उमेर हद लागू हुनेछ । अवकाश उमेर सीमा पुरुष र महिला दुबैका लागि समान हुनेछ । नयाँ व्यवस्थाले निजामती सेवाको दीर्घकालीन संरचना व्यवस्थापनमा प्रभाव पार्ने सरकारको अपेक्षा छ ।