काठमाडौं । भारी वर्षा र बाढीको जोखिम बढेपछि बीपी aराजमार्गमा असोज २१ गतेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले काभ्रे भञ्ज्याङ-भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुबाहक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाइएको हो।
अत्यावश्यक नभई बाहिर ननिस्कन, विशेषगरी टाढा र रातिको समयमा यात्रा नगर्न, नदी किनार र पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सतर्क रहन उनले आग्रह गरे । गत वर्ष असोज ११ र १२ गतेको भारी वर्षा, बाढी र पहिरोका कारण बीपी राजमार्गमा ठूलो क्षति पुगेको थियो । क्षतिग्रस्त भागमा अझै पुनर्निर्माण नसकिएकोले यसपालि पनि जोखिम कायमै रहेको छ।