सर्लाही । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रका विभिन्न स्थानमा गरिएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।
लालबन्दी नगरपालिका १४ अन्तर्गत प्रताटोल र हात्तिसुढेमा करिब १५ बिघा ९ कट्ठा तथा मत्स्य दोभान शिरसहित चुरे क्षेत्रका अन्य स्थानमा फैलिएको गरी कुल करिब ३५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आइतबार बिहानदेखि साँझसम्म सञ्चालन गरिएको अभियानमा ठूलो संख्यामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले १ लाख ८० हजारभन्दा बढी गाँजाका बोट फडानी गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डीएसपी सरोज राईका अनुसार लागूऔषध नियन्त्रण अभियान अन्तर्गत अवैध खेती र उत्पादन नियन्त्रणका लागि सुरक्षाकर्मीहरू निरन्तर सक्रिय छन् ।
उनले चुरे क्षेत्रमा पटक–पटक अवैध गाँजा खेती फेला परिरहेकाले हालसम्म ७० बिघाभन्दा बढी क्षेत्रफलको गाँजा खेती नष्ट गरिसकिएको जानकारी दिए ।
डीएसपी राईले अवैध लागूऔषध उत्पादन तथा तस्करी नियन्त्रणका लागि यस्तो अभियान निरन्तर जारी रहने स्पष्ट पार्दै, घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान पनि अघि बढाइएको बताए ।




