Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

डिभीका लागि नक्कली कक्षा १२ को प्रमाणपत्र, सात जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, २०
डिभीका लागि नक्कली कक्षा १२ को प्रमाणपत्र, सात जना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र प्रयोग गर्ने सात जनालाई पक्राउ गरी कारवाही अघि बढाएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका ७ घर भएका १९ वर्षीय किरण सिंह ठकुरीले डिभी प्रयोजनका लागि काठमाडौंस्थित अमेरिकी दूतावासमा कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । दूतावासले उक्त प्रमाणपत्र प्रमाणीकरणका लागि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पठाउँदा उक्त कागजात नक्कली भएको पुष्टि भएको थियो ।

बोर्डबाट प्रमाणपत्र नक्कली भएको जानकारी आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले नक्कली प्रमाणपत्र प्रयोग गर्ने ठकुरीसहित उक्त प्रमाणपत्र बनाइदिने अन्य व्यक्तिहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

प्रहरीको विशेष टोलीले माघ १५ र १६ गते गरी यो धन्दामा संलग्न सात जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मुख्य आरोपी किरण सिंह ठकुरीसहित पर्वत फलेवासका ४० वर्षीय अनिल शर्मा, काठमाडौं तारकेश्वरका ३४ वर्षीय लक्ष्मण बस्नेत र नुवाकोट ककनीका ४२ वर्षीय केशव फुयाँल छन् ।

त्यस्तै नुवाकोट तादीका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौं महानगरपालिका २ की ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल पनि पक्राउ परेका छन् ।

कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका सबैलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । प्रहरीले नक्कली प्रमाणपत्र बनाउने गिरोहका अन्य सदस्य र सञ्जालबारे पनि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स