सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो ।
यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यहीँ जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ ।
यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको जानकारी दिए ।
उनले भने, “सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवाञ्छित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ । यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको हो । प्रारम्भिक चरणमा जेठ १५ बाट यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ ।”
राष्ट्रिय यातायात व्यवसायीक महासङघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिए । उनका अनुसार यात्रुको लगेज सुरक्षित राख्ने विषय लामो समयदेखि चुनौतीका रूपमा रहेको थियो ।
उनले भने, “जहाजमा जस्तै अब बसमा पनि लगेज ट्याग प्रणाली लागू हुनेछ । यसले यात्रुको झोला साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या हटाउनेछ । यात्रुले ढुक्क भएर यात्रा गर्न सक्ने वातावरण बन्नेछ ।” यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो ।
कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसारपसारमा सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए । नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।
यस प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ । सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
