काठमाडौं । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
उनका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो । लौगीको मृत्यु बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
खेतीको समयमा सप्तरीसहित मधेस प्रदेशमा विद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा कतिपय किसानको ज्यान जाने गरेको छ । यस्ता जोखिमबाट ज्यान जाने किसान प्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन् ।


