Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, २८
नबिल बैँकको  ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र  एआइमार्फत  भविष्यको  नेतृत्व  गर्ने  प्रतिबद्धता

काठमाडौँ। नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा गरी नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले यस ऐतिहासिक घडीमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ “बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको बताएको छ।

वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले सम्बोधनमार्फत विगत ४२ वर्षदेखि नबिल बैंकको मुटुमा केवल एउटा कुरा मात्र धड्किरहेको र त्यो “विश्वास” भएको  बताए।

अध्यक्ष चौधरीले भने, “आज नबिल बैंक ४२ वर्षको उत्कृष्ट यात्राको साक्षी बनिरहँदा म सम्पूर्ण ग्राहक,शेयरधनी, नियामक निकाय, साझेदार र हाम्रा समर्पित कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। यो विश्वासनै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यो नै हाम्रो भविष्यको बलियो जग बन्नेछ।”

उनले विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन भएको चर्चा गर्दै नबिल बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको बरु सधैँ त्यसको नेतृत्व गरेको बताए। “हामीले आधुनिक बैंकिङको जग बसाल्यौँ।“‘एनबैंक’ एप मार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौँ,” अध्यक्ष चौधरीले भने, “नेपालकै पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौँ। आज नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ। हामीले नवप्रवर्तन केवल अपनाउने मात्र गरेका छैनौं, यो नबिलको डीएनए मै छ।”

सम्बोधनका क्रममा अध्यक्ष चौधरीले बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को युगमा बैंक प्रवेश गरेको घोषणा गरे। एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनः परिभाषित गरिरहेको उनले बताए।

नबिल बैंकले यस परिवर्तनमा केवल सहभागी मात्र नभई यसको नेतृत्व गर्ने तयारी गरिसकेको जानकारी दिँदै उनले भने, “एनबैंकको अबको विकासमा एआईलाई केन्द्रविन्दुमा राखिनेछ। यसले बैंकिङ सेवालाई अझ स्मार्ट र व्यक्तिगत बनाउनेछ। यसबाट द्रुत कर्जा प्रवाह, उत्कृष्ट जोखिम व्यवस्थापन, बौद्धिक ग्राहक अनुभव, व्यापक वित्तीय समावेशीकरण र मजबुत सुरक्षा प्रणालीको विकास हुनेछ। प्रविधि जतिसुकै बौद्धिक बने पनि हाम्रो मूल उद्देश्य सधैँ मानवीय भावना र मूल्यमान्यतासँगै जोडिनेछ, किनकि बैंकिङ केवल वित्तीय कारोबार मात्र होइन, यो सपनाहरू साकार पार्ने, उद्यमीहरूलाई सघाउने, परिवारको भविष्य निर्माण गर्ने र नेपालको समृद्धिमा योगदान दिने माध्यम हो।”

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा नेपालकै पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको यो यात्रा आज लाखौँ ग्राहकको अटुट विश्वास र हजारौँ कर्मचारीको निष्ठाका कारण यो गौरवमय उचाइसम्म आइपुगेको बताए।

“यस ऐतिहासिक उपलब्धिको उत्सव मनाउँदै गर्दा, हामी हाम्रा ग्राहकरु र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्न थप आत्मविश्वास, नविनता र प्रतिबद्धताका साथ भविष्यतर्फ हेरिरहेका छौं। हामी केवल बैंकिङ सेवा दिने संस्था होइनौं, हामी तपाईंका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौं। हाम्रो लागि यही हो बैकिङ एण्ड बियोन्ड,” सीईओ ज्ञवालीले भने।

बैकले देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्धेश्यले कृषि,उर्जा,लघु तथा साना उद्योग र पर्यटन क्षेत्रलाई लगानीका प्रमुख प्राथमिकतामा राखेको जनाएको छ । बैँकका अनुसार हालसम्म कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैँया,उर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैँया तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैँया कर्जा प्रवाह गरिएको छ ।

बैँकले आफ्नो वित्तीय अवस्थासमेत उल्लेखनीय रुपमा सुदृढ भएको जनाएको छ । आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैँया रहेको नेटवर्थ चालु आर्थिक २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा ७० अर्ब ८३ करोड रुपैँया पुगेको छ । यसैगरी १० लाख रुपैँयामा सीमित रहेको खुद नाफा बढेर ६ अर्ब ७६ करोड रुपैँया पुगेको बैँकको भनाइ रहेको छ ।

त्यस्तैगरी बैँकको निक्षेप १४ करोड ६० लाख रुपैँयाबाट विस्तार हुदैँ ५ खर्ब ८८ करोड रुपैँया पुगेको बताइएको छ । कर्जा प्रवाह पनि १३ करोड ३० लाख रुपैँयाबाट बढेर ४ अर्ब १० करोड रुपैँया पुगेको छ भने यस अवधिमा कुल सम्पति २६ करोड ९० लाख रुपैँयाबाट वृद्धि भई ७ खर्ब १८ अर्ब ४२ करोड रुपैँया पुगेको बैँकले जनाएको छ ।

सेवा विस्तारका क्रममा नबिल बैँकले देशभर २६४ शाखा,३१५ एटीएम र १८ वटा विस्तारित काउन्टर सञ्चालन गर्दे २६ लाखभन्दा बढी ग्राहकलाई बैँकिङ सेवा उपलब्ध गराइरहेको जनाइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स