Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, ८
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात

काठमाडौँ । पाँच दशकअघि नेपालमा वर्षभरिमा ८०१ वटा नयाँ सवारी साधन दर्ता हुने गरेको थियो । अहिले देशभर दर्ता भएका सवारीसाधनको संख्या करिब ५५ लाख पुगेको छ । यीमध्ये नयाँ दर्ता हुने सवारीसाधनमा मोटरसाइकलकोे हिस्सा मात्रै करिब ८४ प्रतिशत पुगेको जनाइएको छ ।

सवारीसाधनको यो बढ्दो संख्याले नेपालीको आवागमनको शैलीमा आएको परिवर्तन मात्र देखाउँदैन,यससँगै विस्तार भएको अटोमोबाइल क्षेत्रको आर्थिक योगदान पनि स्पष्ट देखाउने बताइएको छ ।

नाडा अटोमोबाइल्स एसासिएसन अफ नेपाल स्थापनाको ५० वर्ष पुग्दा अटोमोबाइल क्षेत्र आयात र बिक्रिमा मात्र सीमित नरही वित्त,बिमा,सर्भिसिङ,पार्टस आपूर्ति,तालिम तथा रोजगारीसँग जोडिएको ठुलो औद्योगिक संरचनाका रुपमा विस्तार भएको नाडाले जनाएको छ ।

पछिल्ला पाँच आर्थिक वर्षमा नेपालले करिब ४७० अर्ब रुपैँया बराबरका सवारीसाधन तथा सम्बन्धित सामाग्री आयात गर्नुका साथै यसबाट करिब ३५१ अर्ब रुपैँया भन्सार राजस्व संकलन भएको छ भने पछिल्ला एक आर्थिक वर्षमै अटोमोबाइल क्षेत्रले राज्यलाई ७५ अर्ब रुपैँयाभन्दा बढी राजस्व योगदान गरेको आयोजकले बताएको छ ।

यससँगै नेपालमा स्वदेशी उत्पादन र एम्बेसीको प्रयास पनि अघि बढेको छ भने नाडाको स्वर्ण जयन्ती संस्करणमा ‘मेड इन नेपाल/मेड फर नेपाल’प्याभिलियनमार्फत नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन तथा अटोमोबाइल सामाग्री प्रदर्शन गरिने बताइएको छ । करिब आठ नेपाली उत्पादक सहभागी हुने प्याभिलियनमा विद्युतीय मोटरसाइकल ,ब्याट्री,ल्यब्रिकेन्ट र हेल्मेटलगायतका उत्पादन रहनेछन् ।

आयोजकका अनुसार करिब दुई सय स्टलको अटो शोमा उत्पादनको हिस्सा अझै सानो रहेकोे छ तर आयातमा निर्भर बजारमा नेपाली उत्पादन पनि विदेशी ब्रान्डसँगै प्रदर्शन हुन थालेको परिवर्तनलाई महत्वपुर्ण मानिएको छ । सुजुकी र टाटाजस्ता ब्रान्ड दशकौँ देखि नेपाली बजारमा स्थापित छन् ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार, “हामीले दिन खोजेको सन्देश यही हो नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन । हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ बढिरहेका छौं ।”

५० वर्षदेखि आयातकर्ताको प्रतिनिधि संस्थाका रुपमा स्थापना भएको नाडाले अहिले आयातकर्ता,एसेम्बलर,वित्त,बीमा,सर्भिस,पार्टस् आपूर्तिकर्ता र स्वदेशी उत्पादकलाई समेत समेटेको जनाइएको छ । नाडाका अनुसार यसरी ८०१ वटा वार्षिक नयाँ दर्ताबाट ५५ लाख सवारीसाधनसम्म पुगेको नेपालको अटोमोबाइल यात्रा अब आयातबाट उत्पादनतर्फको नयाँ चरणमा प्रवेश गर्दैछ ।

Top Changing Nepal

युट्युब सट्स