माघ १६, जनकपुरधाम । वैदेशिक रोजगारीमा जाने युवालाई दुई वटा बैंकले बिना धितो सहुलियत ऋण दिने भएका छन् । प्रदेश २ बाट विदेश जाने युवाका लागि प्रदेश सरकारले नै बिना धितो ऋण दिने व्यवस्था मिलाएको हो ।
प्रदेश सरकारको समन्वयमा प्रदेश सरकार, सिप परियोजना र प्रभु बैक तथा एसबीआई बैंक बीच साउन महिनामा बैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । विहिबार जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरेका हुन् ।
सोहि अनुरुप प्रभु बैंकले बिहीबारबाट युवालाई ऋण दिन सुरु गरेको छ । बिहीबार मात्रै नौ जना युवाले वैदेशिक रोजगार ऋण पाएका छन् । एसबीआई बैंकले बुधबारदेखि ऋण प्रवाह गर्न सुरु गरेको छ । २ नम्बर प्रदेशका ५ जिल्लामा प्रभु बैंकले र तीन जिल्लामा एसबिआई बैंकले यो ऋण उपलब्ध गराउने सहमति भएको छ ।
प्रभु बैंकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा तथा सिराहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले ऋण प्रवाह गर्नेछ । वैदेशिक रोजगारमा जान चाहने युवाको भिसाा लागेको पाँच दिनभित्रै ऋण पाउनेछन् । वैदेशिक रोजगारीमा जाने युवाहरुले राहदानी बनाउने बितिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिनुपर्नेछ । यसपछि बैंकले ती व्यक्तिको नाममा बचत खाता खोलिदिनेछन् । जब त्यो व्यक्तिको भिसा लाग्छ, त्यसपछि भिसासहितको करारपत्रको प्रतिलिपि बैकमा जम्मा गर्नुपर्नेछ । डकुमेन्ट पेश गरेको पाँच दिनभित्रै कर्जा उपलब्ध गराउने दुबै बैंकले प्रदेश सरकारसँग सहमति गरेका छन् ।