काठमाडौं । आइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाउन आएका महिलाहरुले जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुखमाथि किशोरी साहमाथि चप्पल प्रहार गरेका छन् ।
उनीहरू उपमहानगरपालिका–२३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै नगरप्रमुख मनोज साहलाई ज्ञापन पत्र बुझाउन आएका थिए । ज्ञापनपत्र बुझाउन आएको सो समूहलाई मेयर साहको अनुपस्थितीमा उपप्रमुख साहलाई ज्ञापनपत्र बुझाएका थिए ।
उपप्रमुख साहले ज्ञापनपत्र बुझिसकेपछि आफ्नो कार्यकक्ष भन्दाबाहिर कार्यालय प्रांगणमा सम्बोधन गर्न आएकी थिइन् । उक्त सम्बोधनकै क्रममा उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएकी थिइन् ।
यसैगरी, ती समूहलाई सम्बोधन गरिरहेको क्रममा उपप्रमुख साहमाथि एक जना महिलाले चप्पल प्रहार गरेको जनाइएको हो ।
स्थानीय वासिन्दाले बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई दिएको १७ बिघा १५ कठ्ठा जग्गा बेचबिखन हुन थालेको भन्दै त्यसलाई रोक्न ज्ञापनपत्र बुझाउन आएका थिए ।





