काठमाडौँ । शनिबार मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविरबाट कुल ७३१ दाँत र आँखाका बिरामी लाभान्वित भएका थिए ।
उक्त कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शिविर सञ्चालन गरेको हो । शिविरमा २८४ जना दन्त सम्बन्धी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका थियो । त्यस्तै, कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक अरुण शर्माले १२ जना मोतिबिन्दुका बिरामी पहिचान भएको र ५३ जना बिरामीले चस्मा लाउनुपर्ने बताए । साथै, उनले भने, ‘मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ ।’
शिक्षक शर्माका अनुसार काठमाडौं महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका थिए । उनका अनुसार विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी, अन्य कलेजका विद्यार्थीहरु शिविरमा जचाउन आएका थिए । कलेजको विद्यार्थीबाहेक, शिक्षक, परिवारका सदस्यहरूले समेत उक्त शिविरबाट लाभ लिएको जानकारी छ ।
शिविर सफलतापूर्वक सम्पन्न गर्न तिलगंगा आँखा विज्ञान प्रतिष्ठान, समाज डेन्टल, युनिलिभर नेपाल लिमिटेड, स्थानीय स्वयंसेवक, लाभग्राही र कलेजका सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरुको ठूलो भुमिका रह्यो । त्यस्तै, कलेजले आफ्नो वार्षिकोत्वसको अवसर पारेर शुक्रबार रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको थियो ।
उक्त कार्यक्रममा कलेज परिसरकै विद्यार्थी र कर्मचारीले रक्तदान गरेका थिए । जहाँबाट ९९ पिन्ट रगत संकलन भएको थियो ।