काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने जनाइएको छ ।
महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै अब सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको जनाएको छ । महानगरका अनुसार महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी विसौनीस्थल, सरकारी कार्यालय या कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न नपाइने भएको हो ।
साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक या सांस्कृतिक कार्यमा माग्नेको हकमा भने यो नियम लागु हुने छैन । साथै, महानगरको सूचनाको उल्लंघन गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।






