काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीका पाँच वटा सडकमध्ये अहिले चल्तीका तीन वटा सडक बन्द भएका छन्। सडक स्तरोन्नतिका लागि भन्दै सडक बन्द गरिएको छ ।
हेटौँडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं र हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाडौं सडक स्तरोन्नतिका लागि पुष १६ देखि फागुन १५ सम्म दुई महिनाका लागि बन्द गरिएको छ ।
त्यस्तै, हुमाने–मातातीर्थ सडक पनि मंसिर १५ गतेदेखि मर्मतका लागि भनेर बन्द गरिएको छ । यी सडकको विकल्पमा हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–मार्खु–चित्लाङ–थानकोटको बाटो प्रयोग गर्न इन्द्रसरोवर गाउँपालिकाले भनेको छ ।
त्यस्तै, कान्तिलोकपथको बाटो पनि विकल्पमा प्रयोग गर्न गाउँपालिकाले भनेको छ । कान्तिलोकपथ सडक हेटौँडाबाट ललितपुरको ठिंगन–तीनपाने–चापागाउँ हुँदै सातदोबाटो निस्कन्छ ।
गएको वर्ष फागुन १ गतेदेखि मर्मतका लागि भनेर हेटौँडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं र हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाडौं सडक दुई महिना बन्द गरिएको थियो । यसअघि पनि मर्मतसम्भारका नाममा यी सडकहरु बन्द हुँदै आएका छन् ।
हेटौँडा–काठमाण्डौ जोड्ने तीन वटा सडक एकै पटक बन्द हुँदा यातायात व्यवसायी तथा चालकहरुले हैरानी खेप्नुपरेको छ । अहिले यी मर्मत गर्दै गरेका बाटोको विकल्पमा कान्तिलोकपथ प्रयोग गर्नु उचित हुने जानकार बताउँछन् ।





