काठमाडौं ।
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेको बताइएको छ ।
प्रहरीका अनुसार उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं चन्डोलबाट पक्राउ गरेको बताइएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरीले बताएको छ ।





