काठमाडौं । दशैंका लागि काठमाडौंबाट घर फर्किने यात्रुहरूलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायतका सरोकारवाला संस्थाका प्रतिनिधिहरूसँग छलफल हुने भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)का अनुसार सरकारले दशैं नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङको मिति तय गर्न आज दिउँसो बैठक बोलाएको हो । ‘दशैं नजिकिएकाले अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भनेर सरकारले छलफलमा बोलाएको छ,’ सिटौलाले बताए, ‘वर्षाको अवस्था, शान्ति सुरक्षाको अवस्था सबै मूल्यांकन गरेर आवश्यक निर्णय हुनेछ ।’