काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि प्रस्तावित ‘ओली कुटी’ को डिजाइनप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्। केवल पति–पत्नी बस्ने परिवारका लागि अत्यधिक विलासी ढंगको संरचना डिजाइन गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत इञ्जिनियरलाई कारबाही गर्नुपर्ने सुझाव दिएका छन्।
फेसबुकमा ‘एकछिन रमाइलो’ भन्दै व्यंग्यात्मक शैलीमा लेख्दै पुनले भनेका छन् ‘यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले । कहाँसम्मको लापरवाही हो यो ?’





