काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (आरएसी) श्रृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त उत्पादनको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेका हुन् । यसले नेपालमा विश्वसनीय तथा नवप्रवर्तनयुक्त घरेलु उपकरण उपलब्ध गराउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको कम्पनीले जनाएको छ ।
नयाँ डुअलकुल एयर कन्डिसनरमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि प्रस्तुत गरिएको छ, जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको कम्पनीको भनाइ छ ।

नयाँ शृंखलाको मुख्य आकर्षण नै एलजीको किलोवाट म्यानेजर हो, जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत् खपत अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुर्याउँने बताइएको छ ।
कम्पनीका अनुसार साधारण सेटअपमार्फत प्रयोगकर्ताले आफूले चाहेको विद्युत् खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्न सक्छन्, एलजी थिनक्यू कनेक्टिभिटीमार्फत प्रयोगकर्ताले वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न सक्छन्, असामान्य वा अत्यधिक विद्युत् उपयोगबारे सूचना प्राप्त गर्न सक्छन् र प्रयोग शैली तथा प्राथमिकतानुसार स्वचालित ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्छन् ।
एलजीको ‘फ्रिज क्लिन’ प्रविधिले इभापोरेटरमा जम्मा भएका अशुद्धी वरिपरि बरफको तह बनाउँछ र बरफ पग्लिने क्रममा ती कण ड्रेनेजमार्फत बाहिर निकालिन्छन्, जसले उपकरणको भित्री भाग सफा राख्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।

‘फ्रिज क्लिन, सुविधाले इभापोरेटरमा रहेका अवशिष्ट ब्याक्टेरियामध्ये ९९ प्रतिशतसम्म हटाउन सक्षम रहेको परीक्षणले देखाएको छ’ विज्ञप्तिमा भनिएको छ ।
कम्पनीका अनुसार यसमा अतिरिक्त सुरक्षा प्रदान गर्ने गोल्ड फिन एन्टी–कोरोसन कोटिङ, राम्रो ताप स्थानान्तरण र दीर्घकालीन टिकाउपनका लागि १०० प्रतिशत कपर ट्युब, नेपालमा सामान्य रूपमा हुने भोल्टेज उतारचढावका बीच पनि भरपर्दो सञ्चालन सुनिश्चित गर्ने स्टेबलाइजर–फ्री अपरेसन रहेको छ ।
कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागको महाप्रबन्धक, गौरव हमालले भने : “एलजीको नयाँ किलोवाट म्यानेजर प्रविधिले उपभोक्तालाई आफ्नो विद्युत्खपत र घरेलु खर्चमा अझ प्रभावकारी नियन्त्रण प्रदान गर्छ । ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा, यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने हाम्रो विश्वास छ ।”

एलजी इलेक्ट्रोनिक्स विश्वस्तर घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर समाधान प्रदायक कम्पनी हो, जुन नवीन प्रविधि, ऊर्जा–दक्ष उत्पादन तथा उपभोक्ता–केन्द्रित डिजाइनका लागि परिचित छ । एलजीको उत्पादन श्रृंखलामा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, अडियो प्रणाली तथा दैनिक जीवनलाई सहज बनाउने अन्य उपकरणहरू समावेश छन्।
सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबल अन्तर्गतको कम्पनी हो र नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक रहनुका साथै चार दशकभन्दा बढी समयदेखि सीजी इलेक्ट्रोनिक्ससँगको दीर्घकालीन साझेदारीमार्फत एलजी नेपालमा प्रिमियम उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित रहँदै आएको बताइएको छ।



