काठमाडौँ | नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो । तर, यस बीचमा राष्ट्रिय टोलीले दुईवटा ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षौँदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व कीर्तिमानसमेत नेपाली खेलाडीले तोड्न भ्याइसकेका छन् ।
साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यान विवादले उग्ररूप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसयता नेपाली क्रिकेट नेतृत्वविहीन अवस्थामा छ । क्रिकेट सङ्घ निलम्बनकै अवस्थामा गत वर्षमात्र एक दिवसीय मान्यता पाएको नेपालले अहिले एक दिवसीय शृङ्खला नै जितेर विश्व क्रिकेटको ध्यान आफूतिर तान्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो ।
आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्ड्ससँग ‘डेब्यु’ (पहिलो) एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । शृङ्खला १–१ जीत सहितको बराबरीमा सकिएको थियो । क्यानको विवाद तथा नेतृत्वविहीन अवस्थामा पनि नेपालले दुईवटा ऐतिहासिक उपलब्धि हासिल गर्नु गर्वको विषय भएको बताउनुहुन्छ, राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास । क्यान विवाद समाधान पूर्वाधार विस्तारमा उहाँको जोड छ । “नेपालले एक दिवसीय मान्यता पाएपछि र एक दिवसीय शृङ्खला नै जितिसकेपछि अब नेपालमा पनि एक दिवसीय शृङ्खला खेल्नसक्ने पूर्वाधारको आवश्यकता छ, कीर्तिपुरको एउटा मैदानले कहिलेसम्म नेपाली क्रिकेटलाई धानिरहने ?”
“आजको आवश्यकता सक्षम नेतृत्वसहितको राजनीतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरोकार निकायसँग समन्वय गर्दै समग्र नेपाली क्रिकेटको विकासमा नेतृत्वदायी भूमिका खेलोस्”, क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे भन्नुहुन्छ । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीहरूको हेरचाहलगायतमा ध्यान जानु जरुरी रहेको बताउनुभयो । क्रिकेटको विकासका लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनुपर्ने उहाँको भनाइ छ ।