काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको नि:शुल्क उपचार हुने व्यवस्था गरेको छ । मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको नि:शुल्क उपचारका लागि सम्झौता गर्दै आइरहेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको निस्शुल्क उपचार हुनेछ । मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड-१९ केयर युनिट संचालन गर्ने र नि:शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो ।
यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितको अस्पतालले नि:शुल्क उपचार गर्नुपर्ने हुन्छ । ती बिरामीहरुको उपचार गरे बापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको भनाइ छ ।