काठमाडौं । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जना पक्राउ परेका छन् ।
आफू कर कार्यालयका कर्मचारी रहेको भन्दै कर सङ्कलन गर्ने दुई जनालाई रकम सङ्कलन गरिरहेको अवस्थामै सोमबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको बताए । उनीहरुले गाउँको एक नेताले व्यापारीसँग कर उठाई कर तिरिदिन भनेको र वार्षिकरूपमा कर तिरिदिन रकम उठाएको बताए ।
रकम लिएपछि उनीहरुले ओम शिव शक्ति सेल्स सेन्टरको नगदी रसिद दिए । करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए ।
त्यस्तै, आरोपितले प्रहरीले पक्राउ गरेपछि पसलेलाई कर तिर्न जान टाढा हुने हुँदा साना व्यापारीसँग कर सङ्कलन गरी लगेर तिरिदिने उद्देश्यले रकम लिएको बताए ।