बीबीसी । अरुणाचल प्रदेशको तवाङ्ग क्षेत्रनजिकै भारत–चीन सीमामा दुई देशका सेनाबीच भएको झडप भारत र चीन दुवैले स्वीकार गरेका छन् । भारत र चीन दुवैले एकअर्कालाई आफ्नो भूमिमा अतिक्रमण गरेको आरोप लगाएका छन् ।
भारतका रक्षामन्त्रीले संसद्मा चिनियाँ सेनाले तवाङ्गको याङ्त्से क्षेत्रमा वास्तविक नियन्त्रणरेखामा अतिक्रमण गरेर एकतर्फी रूपमा विद्यमान अवस्थालाई परिवर्तन गर्ने प्रयास गरेको भए पनि भारतीय सेनाले त्यसलाई विफल बनाइदिएको बताएका छन् ।
भारतीय रक्षामन्त्रीका अनुसार उक्त झडपमा भारतीय सैनिकको मृत्यु भएको छैन र कोही पनि गम्भीर घाइते भएका छैनन् । मन्त्री राजनाथ सिंहले यो भिडन्तमा दुवै देशका सैनिक घाइते भए पनि कसैको मृत्यु नभएको बताएका छन् ।
अरुणाचल प्रदेशमा भारत र चीनबीचको सीमा स्पष्ट छैन । त्यहाँ दुवै देशले आफ्नै किसिमका दाबी गर्दै आएका छन् । चीनले अरुणाचल राज्यको ९०,००० वर्ग किलोमिटर भूभाग आफ्नो रहेको दाबी गर्दै आएको छ ।
भारतले पश्चिममा रहेको अक्साई चीनमा ३८,००० वर्ग किलोमिटर भूभागमा चीनले अवैध रूपमा नियन्त्रण गरेको दाबी गरेको छ । अहिलेको घटना गत शुक्रवार भएको हो । सोमवार भारतीय सञ्चारमाध्यममा यस बारे समाचार आएको थियो । त्यसपछि सिंहले मङ्गलवार संसद्मा बयान दिए ।
भारतको भनाइपछि चिनियाँ विदेश मन्त्रालयले स्थिति नियन्त्रणमा रहेको जनाउँदै भारतलाई दुई देशबीचको सीमा सम्झौता पालना गर्न आग्रह गरेको बताइएको छ ।
चिनियाँ सञ्चारमाध्यम के भन्छ ?
चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ जनमुक्ति सेना ९पीएलए० को ‘वेस्टर्न थिएटर कमान्ड’ले वास्तविक नियन्त्रणरेखामा चिनियाँ सैनिकहरू चिनियाँ भूमिमा नियमित गस्तीमा भएका बेला भारतीय सैनिकहरू चिनियाँ क्षेत्रमा प्रवेश गरेका थिए र उनीहरूले चिनियाँ पक्षलाई रोक्ने प्रयास गरेको बताएका छन् ।
अर्थात् भारत र चीन दुवैले एकअर्कालाई आफ्नो भूमिमा अनधिकृत प्रवेश गरेको आरोप लगाएका छन् । घटनाको चौथो दिन चीनबाट प्रतिक्रिया आएको हो । गलवान क्षेत्रमा भारत र चीनबीच झडप हुँदा पनि भारतको प्रतिक्रिया नआउँदासम्म चीनले यस बारे आफ्नो धारणा सार्वजनिक गरेको थिएन ।
घटना बारे चिनियाँ पक्षबाट बयान आउनु विलम्ब हुनुको कारण स्पष्ट पार्दै लन्डनको वेस्टमिन्स्टर विश्वविद्यालयका प्राध्यापक तथा चीन मामिलाविज्ञ दिव्येश आनन्द भन्छन्, “चीनमा कम्युनिस्ट पार्टीले सञ्चारमाध्यममाथि कडा नियन्त्रण गरेको छ र उनीहरू संवेदनशील मानिने मुद्दाहरूमा तुरुन्तै समाचार तयार पार्दैनन् । कुनै मुद्दामा पार्टीको धारणा स्पष्ट हुन्छ र सहमति जुटेपछि मात्र सञ्चारमाध्यमले रिपोर्ट गर्छन् । चीनको सबैजसो सञ्चारमाध्यमले एकैखाले कुरा गर्छन् ।”
यो झडप बारे भारतीय संसद्मा छलफल भएको छ, विपक्षीले सरकारमाथि प्रश्न उठाइरहेका छन्, सञ्चारमाध्यममा पनि यो विषय उठेको छ । तर चीनमा भने त्यस्तो प्रतिक्रिया आएको छैन ।
यो समाचार चिनियाँ सञ्चारमाध्यमको प्राथमिकता रहेको देखिँदैन । चीनमा विपक्षी दल छैन र अरू कसैले यसबारे प्रश्न पनि उठाएका छैनन् । “चीनको भूराजनीतिक समीकरणमा भारत त्यति महत्त्वपूर्ण छैन जति चीन भारतको लागि छ,” प्राध्यापक आनन्द भन्छन् ।
के चीनले विवाद चर्काउन खोजेको हो ?
चीनले जानीजानी सीमामा भारतसँग तनाव बढाएको भारतका रक्षा मामिलाविज्ञहरूको बुझाइ छ । भारतका भूतपूर्व सेनाप्रमुख जेनरल बीपी मलिक भन्छन्, “याङ्त्से तवाङ्गबाट २५ किलोमिटर उत्तरमा ११-१२,००० फिटको उचाइमा छ । यो पुरानो विवादित क्षेत्र हो । सन् १९९० को दशकमा भारत र चीनका अधिकारीहरूले वार्ता सुरु गर्दा यसलाई विवादित क्षेत्र पनि मानिन्थ्यो ।”
“सन् १९९९ को जुलाईमा म सेनाप्रमुख हुँदा पनि चीनले यहाँ आएर बस्न खोजेको थियो । त्यस बेला हामीले प्रतिक्रिया जनायौँ र उनीहरू फर्किए । तर अहिले गलवान घटनाको साढे दुई वर्षपछि दुई देशबीच कूटनीतिक र सैन्य तहमा वार्ता भइरहेका बेला यो झडप भएको छ ।”
“यसले चीनले आफ्नो मनोवृत्ति परिवर्तन नगरेको र सीमामा आफ्नो बठ्याइँ कायम राखेको दर्साउँछ । चीन अझै पनि आफ्नो ठानेका क्षेत्रहरू कब्जा गर्न चाहन्छ । गलवान घटनापछि भारत र चीन दुवैले सीमामा सैनिकहरूको सङ्ख्या बढाएका छन् । तनाव पनि बढेको छ ।”
उनका अनुसार चीनले भारतमाथि थप दबाव बढाउने प्रयास जारी राख्नेछ । “रणनीतिक स्तरमा भारत र चीन आमुन्नेसामुन्ने छन् । चीनले भारतलाई दबाव दिइरहेको छ र दिइरहनेछ,” उनले थपे ।
चीनको दृष्टिमा भारत कति बलियो ?
भारतीय सेनाका एक सेवनिवृत्त वरिष्ठ सैन्य अधिकारीका अनुसार भारतले चीनसँग दुईवटा विशेष सम्झौता गरेको छ जसको उद्देश्य सीमामा शान्ति स्थापना गर्नु हो । “यद्यपि शान्ति स्थापित हुन सकेन,” भूतपूर्व लेफ्टिनन्ट जेनरल शङ्कर प्रसाद भन्छन्, ” गलवानको घटना भयो, त्यसअघि डोक्लाम र अहिले तवाङ्गमा घटनाहरू भए ।”
“यो किन भने चीनले भारतलाई कमजोर र आफ्नो हिसाबले सीमा निर्धारण गर्न सक्छु भन्ने ठान्नु हो । तर अहिले समय बदलिएको छ । अब चीनको अगाडि भारत झुक्दैन ।”
अन्तर्राष्ट्रिय मामिलाकी वरिष्ठ पत्रकार तथा ‘ड्र्यागन अन आवर डोरस्टेपः म्यानेजिङ चाइना थ्रू मिलिटरी पावर’ नामक पुस्तककी सहलेखिका गजाला वहाब भन्छिन्, “भारत र चीन दुवैले एकअर्कालाई प्रतिद्वन्द्वी मान्दै प्रतिस्पर्धा गरिरहेका छन् । तर चीनले भारतलाई आफ्नो प्रतिद्वन्द्वी ठान्दैन । चीनसँग प्रतिस्पर्धा गर्ने शक्ति भारतसँग छैन भन्ने उसको बुझाइ छ । तर भारतको धारणा भने हामी शक्तिशाली छौँ र हामीलाई दक्षिण एशियाको प्रमुख शक्ति मान्नुपर्छ भन्ने छ ।”
“चीनले यसलाई स्वीकार गर्दैन । चीनले विश्वको सबैभन्दा ठूलो शक्ति अमेरिकासँग आफ्नो प्रतिस्पर्धा रहेको ठानेको छ र यस्तो अवस्थामा भारतसँग उसको तुलना गर्ने रु यही कारणले गर्दा चीनले आफूलाई भारतभन्दा बलियो देखाउन खोजिरहेको देखिन्छ ।”
के चीनको कुनै रणनीति छ ?
चीन र भारतबीचको यो झडप अचानक नभई यसका पछाडि चीनको कुनै न कुनै रणनीति हुन सक्ने भारतीय विश्लेषकहरूको दाबी छ । जेनरल बीपी मलिक भन्छन्, “चीनले जानीजानी र सुनियोजित रूपमा गरिरहेको देखिन्छ । जबसम्म सीमाविवाद समाधान हुँदैन, तबसम्म यो जारी रहनेछ । चीन नक्सामा लाइन अफ एक्चूअल कन्ट्रोल (एलएसी) मान्न चाहँदैन । जबसम्म चीनले एलएसीलाई स्वीकार गर्दैन तबसम्म त्यहाँ झडपको सम्भावना कायम रहन्छ ।”
गजाला वहाब भन्छिन्, “यो चीनको योजनाको अङ्ग हो, योजनाबिना चीनले केही गर्दैन । चीनको नीति पूर्ण तयारीका साथ आफ्नो प्रतिद्वन्द्वीविरुद्ध जाने हो, आवेग वा कुनै उक्साहटकै कारण उसले केही गर्दैन । यस्तो अवस्थामा चीनले जे पनि गरेको छ सोचेरै गरेको हुन सक्छ ।”
दिल्लीस्थित जवाहरलाल विश्वविद्यालयका प्राध्यापक तथा चीन मामिलाका विज्ञ अलका आचार्यको बुझाइ भने भिन्न छ । “घटनाको समयले खासै महत्त्व राख्छ भन्ने मलाई लाग्दैन । विगत १५ वर्षमा कुनै न कुनै घटना हुँदै आएको छ । हरेक कुरामा षड्यन्त्र देख्नु ठिक होइन । ‘लाइन अफ कन्ट्रोल’मा दुई देशबीच मतभिन्नता छ, गस्ती भइरहेको छ । यस्तो अवस्थामा दुवै देश आमुन्नेसामुन्ने हुनेछन् र जुनसुकै बेला झडपको सम्भावना पनि रहिरहन्छ ।”
चीनमा राष्ट्रपति सी जिन्पिङको ‘शून्य कोभिड’ नीतिका कारण विरोध खेप्नुपरेको छ, उनी रक्षात्मक देखिन्छन् । यस्तो अवस्थामा आन्तरिक मामिलाबाट ध्यान हटाउने उद्देश्यसहित सीमामा तनाव भएको हुन सक्ने पनि अनुमान गरिएको छ ।
चीनलाई प्रतिक्रिया दिन भारत सक्षम छ कि छैन ?
भारतले सीमामा सैन्य उपस्थिति बढाएको छ, सुरक्षा पूर्वाधार बलियो बनाएको छ र निगरानीमा कडाइ गरेको छ । अहिले सीमामा परिस्थिति फेरिएको छ र भारतीय सेनाले चीनको रणनीतिविरुद्ध प्रतिक्रिया जनाइरहेको विश्लेषकहरूको विश्वास छ ।
भूतपूर्व लेफ्टिनेन्ट जेनरल शङ्कर प्रसाद भन्छन्, “यो घटना अचानक भएको होइन । यसको पछाडि योजना छ, चीनले योजना र मूल्याङ्कन पछि मात्रै यस्तो गर्छ ।”
“कतै भारत कमजोर देखिएमा भूमि कब्जा गर्ने प्रयास गर्छ। ऊ बिस्तारै अगाडि बढिरहन्छ । तर अहिले समय फेरिएको छ । अहिले भारतसँग निगरानी गर्ने प्रविधि छ, स्याटलाइट तस्बिर छ । यस्तो अवस्थामा चीनको कारबाही बारे भारतले थाहा पाउँछ र यस्तो घटना हुन्छ ।”
“चीन अचानक तवाङ्गमा प्रवेश गर्छ भन्ने होइन । यस्तो प्रयास गरेमा भारतबाट त्यसको उचित प्रत्युत्तर दिइनेछ । भारतको सेना, राजनीतिक नेतृत्व, सेनाको उच्च भूभागमा लड्ने क्षमता सबै धेरै बलियो भएका छन् । चीन पक्कै पनि योजनाबद्ध रूपमा आएको हो तर भारतले जबाफी कारबाही गर्यो र चिनियाँ सैनिकहरूलाई हताहत बनाएर फिर्ता पठायो ।”
भारत र चीनबीच यस्तो घटना हुँदा भारतले चीनलाई चर्को रूपमा जबाफ फर्काएको भारतीय मिडियामा दाबी गरिन्छ । भारतको बढ्दो शक्तिबाट चीन डराएको दाबी गरिन्छ ।
पत्रकार गजाला वहाब भन्छिन्, “तर चीन भारतसँग डराउँछ भन्ने दाबी सही होइन । भारतले अमेरिकाको आडमा चीनलाई चुनौती दिइरहेको छ । चीनसँग लड्न आवश्यक आर्थिक शक्ति, प्रविधि र सैन्य शक्ति नभएकाले यस्तो नीतिको घाटा भारतले नै बेहोर्नुपर्ने हुन सक्छ ।”
भारत प्रविधि र सैन्य शक्तिका लागि अन्य देशहरूमा निर्भर छ । भारतको अर्थतन्त्र पनि चीनको जस्तो बलियो छैन । यस्तो अवस्थामा भारतले चीनलाई चुनौती दियो भने तनाव बढ्नेछ ।