काठमाडौं । शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
कार्यक्रमअनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ । त्यस्तै भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक पार्टीका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टे प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम तय गरिएको छ । महासंघले भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय इकाईमा पनि ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा धर्ना दिने जनाएको छ ।
आन्दोलनको दोस्रो चरणका कार्यक्रम भने भदौ २१ गते सार्वजनिक गरिने छ । यस चरणमा अवरोधात्मक तथा कडा किसिमका आन्दोलनकारी कार्यक्रम ल्याइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले भने, “०८१/८२ सालको आन्दोलनभन्दा कडा आन्दोलन गर्छौं ।”
यसअघि महासंघले गत चैत २० देखि २९ दिनसम्म विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन चलाएको थियो ।