तरकारीमा हाइटेक प्रविधिले तेब्बर बढी आम्दानी
जानकारी केन्द्र
२०७५, आश्विन, २७
पर्वत। पर्वतको जलजला गाउँपालिका–८ का राजन सापकोटाले छ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउनुहुन्थ्यो ।
वर्षभरि दुःख गर्दा पनि श्रमअनुसारको आम्दानी लिन नसक्दा निराश हुनुभएका उहाँ जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते उन्नत तरकारी खेती तालीमपछि नयाँ उत्साह जागृत भयो । लगानी थपेर प्लास्टिकका दुई अस्थायी टनेल बनाउनुभयो । एउटा तालीम लिँदाकै बेला पाएको प्लास्टिक थियो, अर्को आफैंले किनेर लैजानुभयो ।
तालीममा सिकेको ज्ञानअनुसा र उहाँले दुईवटा टनेलमा सिर्जना जातको गोलभेंडा लगाउनुभयो । त्यसबाट एकै मौसममा रु दुई लाख ५० हजार आम्दानी गर्न सफल भएपछि उहाँमा तरकारी खेतीतर्फ आकर्षण बढ्यो ।
विसं २०५४ देखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका उहाँ एक समय यो पेशा छाड्ने सोचमा पुग्नुभएको थियो । ‘‘लगानी उठाउनै नसकेपछि विदेश जान कस्सिएको थिएँ,’’ उहाँले भन्नुभयो, “एक हप्ताको तालीमले मेरो सोचमा परिवर्तन ल्याइदियो ।”
सापकोटाले पहिलो पटकको गोलभेंडाको कमाइले अरू दुईवटा प्रकृतिका टनेल थप्नुभयो । फलामका डण्डी गाडेर बनाइएका ती टनेल स्थायी खालको छ । उहाँका अनुसार यसखालको टनेलमा एउटा प्लास्टिक १० वर्षसम्म टिकाउ हुन्छ ।
टनेलको चारैतर्फ हरियो अर्धपारदर्शी प्लास्टिकले बारिने हुँदा बाहिरी कीरा टनेलभित्र पस्न पाउँदैनन् । भित्रको तापक्रम सन्तुलित रहन्छ । गर्मीमा हरियो प्लास्टिक निकाल्नुपर्छ । जाडो मौसममा ढाक्नुपर्छ । अहिले सापकोटाको बारीमा चारवटा उच्च प्रविधिका टनेल छन् ।
उहाँ मात्रै नभएर वरपरका किसानले पनि उच्च प्रविधिका टनेलभित्र तरकारी लगाउने क्रम बढेको छ । स्थानीय फर्सेमा करीब सय परिवार व्यावसायिक कृषिमा आश्रित छन् । गएको तीन दशकदेखि व्यावसायिक तरकारी लगाउँदै आएको भए पनि यो प्रविधि सिकेको छ वर्ष भयो । गाउँमा पहिलोपटक राजनले शुरु गरेको हाइटेक टनेल अहिले रामु सुवेदी, बाबुराम सुवेदी र शर्मिला क्षत्रीलगायत थुप्रै किसानको बारीमा देख्न सकिन्छ ।
केही किसान एउटैले १२ वटासम्म हाइटेक टनेल बनाएका छन् । यो टनेलभित्र लगाएको तरकारी बाहिरको भन्दा बढी फल्ने अनुभव किसानसँग छ । ‘‘हामीले साउनको भेल र झरीका बेला पनि रायोको साग फलाएर बेच्यौं,’’ रामु सुवेदीले भन्नुभयो, “एक मौसममा १० रुपैयाँमा बिक्री नहुने साग साउनमा प्रतिमुठा डेढ सयमा बेच्यौं ।’ उच्च प्रविधिका टनेलभित्र विशेषगरी अचार खाने खुर्सानी, मुला, गाजर, रायो, बोडी, काँक्रा, करेला, लौका र घिरौंलालगायत तरकारी फलाउन सकिन्छ ।
हाइटेक टनेलमा तरकारी लगाउदा रोप्ने र गोड्ने समयमा ध्यान दिनुपर्ने किसान बताउछन् । ‘‘खुला खेतमा जस्तो जथाभावी रोप्नु हुँदैन,’’ सापकोटाले भन्नुभयो, “फराकिलो ड्याङ बनाएर निश्चित दूरीमा तरकारी रोप्नुपर्छ ।’ खुला आकाशमुनि लाग्ने रोगकीराको प्रकोप यस्तो टनेलमा ९० प्रतिशतभन्दा कम हुने भएकाले मल र सिँचाइमा ध्यान दिए पुग्ने उहाँले बताउनुभयो ।
अहिले यहाँका किसानले उच्च प्रविधिका टनेलभित्र गोलभेंडा, साग र अचार खाने खुर्सानी लगाएका छन् । टनेलभित्र वर्षमा तीनदेखि चार सिजनसम्म तरकारी लगाउन सकिने किसानले बताएका छन् ।
कृषि प्राविधिकका अनुसार पछिल्लो समय उच्च प्रविधिका टनेलमा तरकारी लगाउने किसानको सङ्ख्या बढ्दो छ । निर्वाहमुखी प्रविधिबाट व्यावसायिक आकार लिँदै गरेको पर्वतमा हाइटेक प्रविधिमा खेती गर्न थालेपछि बाहिरबाट आउने तरकारी विस्थापन भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।
हामीले पाँच वर्षयता गरेको अध्ययनमा वर्षेनी तरकारी आयात घटिरहेको छ,’ उहाँले भन्नुभयो, “पछिल्ला वर्ष केही किसानले बेमौसमी तरकारी जिल्लाबाहिर बेच्दै आएका छन् ।” जिल्लाभर करीब दुई हजार किसानले टनेलभित्र तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा निधन
आजदेखि दुई सिफ्टमा विद्युतीय राहदानी सेवा, सार्वजनिक बिदामा पनि कार्यालय खुला
देशैभरी मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
आज गुरु पूर्णिमा, गुरु तथा वेदव्यासप्रति श्रद्धा अर्पण गर्दै देशभर मनाइँदै
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

