आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज दोस्रो दिन, पहिलो दिन ९ हजार ६६६ ले गरे अवलोकन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका छन् । कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र नयाँ प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा पहिलो दिनमै उल्लेख्य संख्यामा अवलोकनकर्ता सहभागी भएका जनाइएको छ ।
मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने तीनदिने प्रदर्शनीमा नेपालसहित भारत, चीन तथा युरोपेली मुलुकका कृषि उपकरण उत्पादक, वितरक, व्यवसायी तथा विभिन्न कम्पनीहरूको सहभागिता रहेको छ । आायोजकका अनुसार,प्रदर्शनीमा साना तथा ठूला गरी १४४ वटा स्टल रहेका छन् भने ९२ जना प्रदर्शक सहभागी छन् ।

प्रदर्शनीमा आधुनिक कृषि मेसिनरी तथा उपकरण, हरितगृह, थोपा सिँचाइ, मल्चिङ, फगर, कृषि ड्रोन, कृत्रिम बौद्धिकता ९एआई०, बीउबिजन, कृषि प्रशोधन, अटोमेसन, पशुपन्छी तथा मत्स्यपालन, मौरीपालन, कफी खेती, मल तथा दानासम्बन्धी प्रविधि र उपकरण राखिनुका साथै ट्र्याक्टर, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि र शीतभण्डारणसम्बन्धी प्रविधि पनि प्रदर्शनीका आकर्षण बनेका बताइएको छ ।
स्वदेशी कृषि उत्पादन र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्षको प्रदर्शनीमा नेपाली उत्पादकलाई विशेष प्राथमिकता दिइएको छ । ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ । राष्ट्रिय आविष्कार केन्द्रसहित १७ वटा स्वदेशी उत्पादक कम्पनीलाई निःशुल्क स्टल उपलब्ध गराइनुका साथै नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्य कम्पनीलाई ५० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।

प्रदर्शनीले किसानलाई आधुनिक कृषि उपकरण तथा प्रविधिबारे प्रत्यक्ष जानकारी लिन, विभिन्न कम्पनीका उत्पादनको तुलना गर्न र आफ्नो खेती प्रणालीअनुसार उपयुक्त प्रविधि छनोट गर्न अवसर प्रदान गरेको छ । विशेषगरी नेपालको भौगोलिक अवस्था र साना किसानको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका कृषि उपकरण तथा प्रविधि प्रदर्शनीमा राखिएका छन् ।
कृषि यान्त्रीकरणलाई विस्तार गर्दै उत्पादन लागत घटाउने, श्रम अभावको समस्या कम गर्ने र कृषि उपजको उत्पादन तथा उत्पादकत्व बढाउने लक्ष्य प्रदर्शनीले लिइनुका साथै स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगको प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा कृषि व्यवसायको व्यावसायिक विकासमा समेत प्रदर्शनीले सहयोग पुर्याउने अपेक्षा गरिएको जनाइएको छ ।
आयोजकका अनुसार,प्रदर्शनीका तीनै दिन नेपाल कृषि इन्जिनियर्स सोसाइटीसँगको सहकार्यमा विभिन्न ज्ञान आदानप्रदान, व्यावसायिक सहजीकरण, प्रविधि विकास र नीतिगत संवादसम्बन्धी कार्यक्रम सञ्चालन हुनेछन् ।
पहिलो दिन देश तथा विदेशका छ जना विषयविज्ञले कृषि यान्त्रीकरणसम्बन्धी प्रस्तुति दिने कार्यक्रम रहेको छ । दोस्रो दिन कृषि मेसिनरी तथा प्रविधिको खरिद र प्रयोगसम्बन्धी परामर्श, खाद्यवस्तु प्रशोधन तथा निर्यातसम्बन्धी ज्ञान आदानप्रदान र नेपालको भूगोलअनुकूल कृषि यान्त्रीकरण नीतिबारे छलफल हुने जनाइएको छ । तेस्रो दिन कृषि यान्त्रीकरण, युवा केन्द्रित कृषि प्रविधि, रूपान्तरण तथा नवप्रवर्तनका विषयमा प्रस्तुति र छलफल गरिने आयोजकले बताएको छ ।

अवलोकनकर्तालाई आकर्षित गर्न तीनै दिन लक्की ड्रमार्फत पुरस्कार वितरणको व्यवस्था गरिएको साथै प्रत्येक दिन ५० जनालाई पुरस्कार प्रदान गरिनेछ भने अन्तिम दिन बम्पर पुरस्कारका रूपमा एक जनालाई मिनी टिलर उपलब्ध गराइने आयोजकले जनाएको छ ।
प्रदर्शनीको मुख्य आयोजक कृषि विभाग, राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका छन् । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल सहआयोजक रहेका जनाइएको छ ।
‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनी तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले तीन दिनमा ५० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरेको छ ।

सम्बन्धित समाचार
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
नेप्सेमा ७ अंकभन्दा बढीको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई स्थान, रैथाने प्रविधिलाई प्राथमिकता
प्रधानमन्त्री बालेन्द्रको भारत जाने कार्यक्रम निश्चित, यस्तो छ भ्रमण कार्यतालिका
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
ट्रेन्डिङ
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
२०८३ मंसिर ३ गते बिहिबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
