सुदूरपश्चिमेलीहरुले मनाउँदै आएका विभिन्न चाडपर्वहरु मध्येको एक महत्वपूर्ण चाड ‘बिसु’ पर्वको लागी घर फर्किने नेपालीहरुको सीमा क्षेत्रमा घुइँचो लागेको छ ।
भारतका विभिन्न ठाउँमा कामका लागी गएका नेपालीहरु विसु मनाउन घर फर्कन थालेका हुन् । भारतसंग सीमाना जोडिएको दार्चुला सदरमुकाम खलंगा, बलुवाकोट र जोलजीवि नाकाबाट अहिले दिनहुँ शयौं नेपालीहरु घर फर्किने गरेका छन् । हरेक वर्ष नयाँ वर्षको अवसरमा वैशाख १ गतेको दिनलाई दार्चुला तथा सुदूरपश्चिमबासीले विसुका रुपमा मनाउँदै आएका छन् ।
विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ ।