काठमाडौं,नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको सहयोगमा सभापति जितेका शेरबहादुर देउवाले अहिले उनलाई धोका दिएका छन् । सिटौला समूहलाई साथमा लिएर पार्टीको रामचन्द्र पौडेल खेमालाई तह लगाउँदैआएका देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उनीसँग परामर्श नै नगरी उनले निर्वाचन जित्दैआएको झापा ३ नम्बर क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनलाई दिने सहमति गरेका छन् । सिटौलाले २०७० मा निर्वाचन जितेको क्षेत्र उनलाई सोध्दैनसोधी देउवाले राप्रपालाई दिएका छन् । जुन कुराले सिटौला रुष्ट भएका छन् ।
सभापति देउवाले उनलाई समानुपातिकमा राखेका छन् । यद्यपि सिटौलाले प्रत्यक्षमा टिकट नपाए समानुपातिकमा पनि नबस्ने कुरा आफ्ना कार्यकर्ताहरुसँग भन्दैआएका छन् । सभापति देउवाले प्रत्यक्षमा टिकट नदिए सिटौला समानुपातिकमा पनि नबस्ने र केन्द्रीय समिति सदस्यबाट समेत राजीनामा दिएर देशभर कांग्रेसको चुनाव प्रचारमा हिंड्ने तयारीमा रहेको बताइन्छ । देउवाले संसदीय समिति गठनमा पनि सिटौला समूहलाई महत्व नदिएको देखिएको छ ।

सभापति देउवाले सिटौला समूहमा रहेका केन्द्रीय सदस्य गगन थापालाई प्रवक्ता बनाउने आश्वासन दिएर आफ्नो गुटमा ल्याएका छन् । गगनले सिटौलाको साथ स्वास्थ्यमन्त्री भएपछि छाडेका हुन् । महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुन र मन्त्री हुँदासम्म उनले सिटौलालाई साथ दिएका थिए । देउवाले २०७० को संविधानसभामा जितेका सिटौला निकट संखुवासभाका तारामान गुरुङ र काभ्रेका शिव हुमागाईलाई समेत यो निर्वाचनमा टिकट दिएनन् । गुरुङले प्रतिनिधिसभाको लागि नपाए पनि प्रदेशसभा माग्दा पनि पाएनन् । जबकि जापानमा बसी अकूत सम्पत्ति आर्जन गरी नेपाल फर्किएको केही बर्षमै संखुवासभामा पैसा खर्च गरी टिकट पाएका दीपक खड्कालाई देउवाले टिकट दिएका छन् । खड्काले देउवापत्नी आरजु देउवालाई ठूलै रकम बुझाएर टिकट लिए, तर जिल्लामा लामो समय राजनीति गरेका र पार्टी सभापति भइसकेका गुरुङले प्रदेशसभामा समेत मौका पाएनन् । यसले गुरुङ जस्ता राजनीतिक योगदान भएकाहरुलाई निराश पारेको छ ।
काभ्रेका शिव हुमागाईले २०६४ मा चुनाव जितेका थिए । तर उनलाई समेत यो पटक टिकट दिएनन् । सिन्धुपाल्चोकबाट हरेक आन्दोलनमा लागेका र जेलनेल भोगेका भोला बोहरालाई पनि कांंग्रेसले यसपटक पनि मौका दिन सकेन । उनलाई पनि सिटौला निकट भएका कारण पाखा पारिएको छ । सिटौला निकट भएकै कारण सिन्धुपाल्चोकका सुदर्शन आचार्य र बलदेव तिमल्सिना समेत टिकटबाट बन्चित भएका छन् । र, सिन्धुपाल्चोकमा बदनाम तस्करहरुलाई कांगे्रसले टिकट दिएको छ ।
सिन्धुपाल्चोकका कांग्रेस नेता भोला बोहराले प्रदेशसभामा समेत टिकट पाएनन् । बोहरालाई नदिएर सिन्धुपाल्चोकमा विवादित ब्यापारीहरु विष्णुबहादुर खत्री र राजेन्द्र श्रेष्ठलाई प्रदेशसभा सदस्यको टिकट दिइएको छ । खत्रीले देउवाको कोटाबाट र श्रेष्ठले रामचन्द्र पौडेलको कोटाबाट टिकट लिएका छन् । संचार मन्त्री मोहन बस्नेतले तस्करहरुको पैसाको बलले चुनाव जित्ने योजनाका साथ उनीहरुलाई टिकट दिएपछि राजनीतिमा लागेका भोला बोहराहरु निस्क्रिय हुन थालेका छन् । रामचन्द्र पौडेलले कृष्ण न्यौपानेलाई प्रदेशसभामा टिकट दिन्छु भनेर आशा देखाएका थिए । तर उनले पनि राजेन्द्र श्रेष्ठबाट आर्थिक सहयोग लिएर न्यौपानेलाई धोका दिएका छन् ।
सिन्धुपाल्चोकमा तस्करहरुलाई टिकट बेचेपछि राजनीतिक आन्दोलनमा लागेका कांग्रेस कार्यकर्ताहरुमा निराशा छाएको छ । अब पैसा हुनेलेमात्र टिकट पाउने भए किन राजनीति गर्नु, सुन तस्करीतिर लाग्नुपर्ने भयो भन्ने टिप्पणी मेलम्ची र चौतारामा हुन थालेको छ ।
कृष्ण सिटौला गुटलाई देउवाको धोका
कृष्ण सिटौला गुटलाई देउवाको धोका

तपाईको प्रतिक्रिया




