बीबीसी । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना चितवनमा पक्राउ परेका छन् । चितवन मेडिकल कलेजअगाडि प्रदर्शन गर्दैगर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले बताएको छ । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले विभिन्न माग राख्दै विगत नौ दिनदेखि आन्दोलन गरिरहेका छन् । प्रकाश चन्द त्यहीँका विद्यार्थी हुन् ।
किन आन्दोलन ?
आन्दोलनकारी विद्यार्थीहरूले चितवन मेडिकल कलेजले तोकिएकोभन्दा बढी रकम लिएको आरोप लगाउँदै उक्त रकम फिर्ता हुनुपर्ने माग राखेका छन् । त्यसबाहेक चार वर्षको अध्ययनपछि इन्टर्नशिप गरिरहेका प्रशिक्षार्थी चिकित्सकहरूलाई उचित तलबको व्यवस्था गरिनुपर्ने माग पनि छ । चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेको ७५ प्रतिशत छात्रवृत्तिलाई साझा प्रवेश परीक्षामार्फत् सुनिश्चित गरी सीट वृद्धि गरिनुपर्ने आदि १३ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको चिकित्सा शिक्षा सङ्घर्ष समितिले जनाएको छ । उक्त आन्दोलनको प्रकाश चन्दले गर्दै आएका थिए ।
किन पक्राउ ?
विद्यार्थीहरुले भने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । तर प्रहरीले भने आन्दोलनले अस्पतालको शान्ति सुरक्षालाई असर पार्ने भएकाले आन्दोलनकारीहरूलाई पक्राउ गरिएको बताएको छ । प्रहरी उपरीक्षक दान बहादुर मल्लले भने, “अस्पतालमा क्षति नहोस् भनेर पक्राउ गरिएको हो ।”





