असोज २७, दार्चुला | भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।भारतमा असोज २९ गते हुने ग्राम पञ्चायत निर्वाचनका लागि आज साँझ ५ बजेदेखि २९ गते साँझ ५ बजेसम्मका लागि पुल बन्द हुने भएको हो ।
भारतको विकास खण्ड धारचुलाअन्तर्गत असोज २९ गते ग्राम पञ्चायत सदस्य, क्षेत्र पञ्चायत सदस्य एवम जिल्ला पञ्चायत सदस्यका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै दार्चुलासँग जोडिएका सबै नाका बन्द गर्नेसम्बन्धी भारतीय प्रशासनले पत्राचार गरेको थियो ।
भारतीय चुनावका कारण सदरमुकामसँग जोडिएको झोलुङ्गे पुल र तिगरम पुल बन्द हुनेछ । यसअघि असोज १८ गते भएको त्रिस्तरीय ग्राम पञ्चायत निर्वाचनका लागि बैतडीको झुलाघाट तथा दार्चुलाका लाली, जौलजीवी र दत्तु नाका ४८ घण्टाका लागि बन्द गरिएका थिए । नेपाल र भारतमा निर्वाचन हुँदा दुवै देशको सहमतिमा सीमा नाकामा रहेका पुल बन्द हुने गरेका छन् ।





