असोज ३०, काठमाडौँ | चार महिना अघि नेपालका एजेन्ट तथा म्यानपावरलाई ३ लाखदेखि ३ लाख ६० हजारसम्म बुझाएर दुबईको फेडरल सेक्युरिटी सर्भिस एलएलसी कम्पनिमा पुगेका युवाहरुले आफूहरुले सम्झौता अनुसार तलब र काम नपाएको भन्दै गुनाशो गरेका छन् । एसआरएस ओभरसिस मार्फत उक्त कम्पनीमा पुगेका उनीहरुलाई सिवाकोटी म्यानपावर तथा एजेन्टहरु मार्फत चर्को अशुली गरेर दुबई पठाइएको युवाहरुले जानकारी दिएका छन् ।
युएईबाट प्राप्त जानकारी अनुसार दर्जनौं नेपाली युवाहरुले उक्त कम्पनीमा काम नपाएको, काम पाउनेले पनि दैनिक काम गरेको आधारमा मात्र तलब पाएको, तलब दिए पनि सम्झौता अनुरुप नदिएको गुनाशो गरेका छन् । पिडित एक युवाका अनुसार कम्पनिले आफूलाई २८ दिन काम लगाएर ६/७०० दिराम मात्र तलब दिएको गुनाशो गरे । ‘कमाउन आएको तर सुतेर बस्नु परेको छ, भने जति तलब पनि दिदैन, एकै कोठामा १२ जना सुत्नुपर्छ, राति सुत्ने बेलामा कहाँ खालि छ हेरेर घुर्सिने हो ।’ एक युवाले आफ्नो समस्या सुनाए ।
अर्का एक युवाले ३ लाख तिरेर एजेन्टमार्फत कमाई गर्न भनेर दुबई आएको तर यहाँ आएर भनेजस्तो नभएको भन्दै नेपाल फर्केर बैदेशिक रोजगार बिभागमा उजुरी दिने योजना बनाएको बताए । उनले भने ‘गत जेठ १० गते दुबई आएँ । अन्तर्वार्ता लिन गएको कम्पनीको प्रतिनिधिले नै १२०० बेसिक दिने भनेको थियो । अहिले डीपीएस पास भईसक्दा पनि न भनेजति तलब छ न कामनै पाइन्छ । मैले चार महिनासम्म पाएको कुल तलब २७०० दिराम हो ।’ ति युवाको अनुसार उनले सम्झौता अनुसार हालसम्म ५४०० पाउनुपर्ने थियो तर आधा मात्र पाएपछि मिडिया गुहार्नु परेको गुनाशो गरे । उनका अनुसार तीन महिनासम्म १२ सय बेसिक त्यसपछि चौथो महिनाबाट १८ सय दिने भनिएपनि त्यस अनुरुप तलब पाउन नसकेको गुनाशो गरे ।
सोहि कम्पनीमा ८/९ महिना बिताएका युवाहरुले समेत तोकिएको तलब नपाएको युवाहरुको गुनाशो छ । पिडितले भने ‘चार महिनामा २७०० थापेको छु, त्यसैबाट झन्डै झन्डै पाँच महिनासम्म खान र फोन खर्च गर्दा कसरी पैसा बचाउने र घरमा पठाउने ?’ ति युवाले भने ‘१२ जना एउटै रुममा राखेको छ, आधा जस्तो काम गर्न जान्छन्, कोहि सुतेर बस्छन् ।’
पिडितले एजेन्टसँग सम्पर्क गर्दा समस्या कसैलाई सुनाईस भने युएईको पुलिसले तलाई थुन्छ भन्दै डर देखाएको कारण डराएर बस्नु परेको बताए । पिडितका अनुसार उक्त कम्पनीमा २०० भन्दा बढी नेपाली कामदार छन् । आफू दुबई आउँदा तीन लाख बढी तिरेको बताएका उनले दुबई जाने दिन लागत खर्च २० हजार अपुग भएकै कारण बिमानस्थलबाटै निकालिएको बताए । उनले भने ‘आमाबुबाले २० हजार मिलाईदिएपछि म बिमान स्थल छिरेको हुँ । त्यत्रो लागत तिरेर केहि कमाई हुन्छ कि भन्ने आशाले आएको यता त्यहि बेलाको ऋणको ब्याज समेत तिर्ने तलब कमाउन सकेको छैन ।’
अर्का पिडित युवाले भने ‘के सपना बोकेर आएको के-के ? न ड्युटी न् तलब ।’ उनका अनुसार कम्पनीले नेपाली र पाकिस्तानीलाई फरक व्यवहार गर्ने गरेको छ । उक्त कम्पनीले पाकिस्तानीलाई हरेक महिनाको २५ तारिक तलब दिने गरे पनि नेपालीहरुलाई धेरै समय कुराएर मात्र तलब दिएको गुनाशो गरे ।





