Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

दीपाश्री निरौलाका पक्षमा सात संस्थाले निकाले संयुक्त वक्तव्य, यस्तो चेतावनी दिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, असार, ३०
दीपाश्री निरौलाका पक्षमा सात संस्थाले निकाले संयुक्त वक्तव्य, यस्तो चेतावनी दिए

काठमाडौँ, २९ असार । कलाकार दिपाश्री निरौलामाथि सामाजिक सञ्जालमा भइरहेको गाली गलौजविरुद्ध चलचित्रसँग सम्बन्धित सात संस्थाहरुले वक्तव्य जारी गरेका छन् । उनीहरुले गालीगलौज नरोकिए अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने चेतावनी दिएका छन् ।

अभिनेता राजेश हमालमाथि महानायक शब्दबारे दिएको अभिव्यक्तिपछि दीपाश्री निरौलामाथि आएका आरोप/प्रत्यारोप र गालीगलौजले पराकाष्ठा नाघेको वक्तव्यमा उल्लेख छ ।

सामाजिक सञ्जालमा आएका यस किसिमका प्रतिक्रिया नरोकिएमा आफूहरु अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने संयुक्त वक्तव्यमा उल्लेख गरिएको हो ।

‘वर्तमान सन्दर्भमा सामाजिक सञ्जालमा चलचित्रकर्मी लक्षित गालीगलौच र अश्लिल प्रतिक्रिया आएकोप्रति हामी संवेदनशील भएका छौं । यस किसिमका प्रतिक्रिया नरोकिए यो प्रतिक्रिया नेपालबाट आएको भए नेपालको साइबर कानुन अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारबाहीको प्रकृया अगाडि बढाउने पनि यही वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौं’, वक्तव्यमा उल्लेख छ ।

चलचित्रसँग सम्बन्धित संस्थाहरु नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ र नेपाल चलचित्र नृत्य संघले उक्त वक्तव्य जारी गरेको हो ।

कुनै अभिव्यक्तिको टिप्पणीलाई लिएर सिंगो चलचित्र जगत अफवाहपूर्ण कुतर्क र एकअर्काको मानमर्दन हुनु दुस्खपूर्ण रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।

आफ्नो स्वतन्त्रताको उपभोग गर्दा पेशागत मर्यादा, सामाजिक मर्यादा, आपसी भाइचारा, सदाचार र संयमतालाई समेत मध्यनवर राखी अभिव्यक्ति दिन पनि अनुरोध गरेको छ ।

‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन’, वक्तव्यमा लेखिएको छ ।

Top Changing Nepal

युट्युब सट्स