क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार
दमौली । पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ ।
तनहुँमा पनि पछिल्लो केही समययता क्रिकेट खेलतर्फ खेलाडीको आकर्षण बढ्दो छ । तनहुँका केही खेलाडीले जिल्लास्तर हुँदै गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा प्रधानमन्त्री क्रिकेट कप खेलिसकेका छन् । क्रिकेटखेलतर्फ आकर्षण बढेपनि जिल्लामा क्रिकेटको पूर्वाधार नहुँदा खेलाडी निराश छन् ।
तनहुँ क्रिकेटका कप्तान चन्द्रकान्त पौडेलले भने, “क्रिकेटमा खेलाडीको बढ्दो आकर्षण भए पनि क्रिकेट खेल्नका लागि मैदान छैन । यो दुःखद् पक्ष हो ।” पूर्वाधार अभावकै कारण कतिपय खेलाडीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाएको पौडेलको गुनासो छ । “तनहुँ जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान छैन, सम्बन्धित निकायले पनि यसतर्फ पहल नगरेको जस्तो देखिन्छ,” उनले भने, “हामीले कहिलेकाहीँ प्रतियोगिता गर्दा अहिले जस्तो मैदान छ त्यस्तैमा गरिरहनुपरेको छ ।”
दमौली पेलिकन्स क्लबले बेलाबेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ । खेल मैदानकै अभावमा क्लबले व्यास नगरपालिका–५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ ।
“क्रिकेटमा राम्रो सम्भावना छ, तर पर्याप्त लगानी हुन सकिरहेको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ”, पौडेलले भने । तनहुँका क्रिकेट खेलाडी समीर कँडेलले खेल्ने वातावरण भए आफूहरुले राम्रो खेल्न सक्ने बताए । “पूर्वाधारको अभावमा पनि तनहुँ क्रिकेटमा अगाडि बढ्दैछ, पूर्वाधार निर्माण गरिदिए हामी राम्रो खेल्न सक्छौँ,” कँडेलले भने, “पूर्वाधार निर्माणमा सरोकारवालाले ध्यान पु¥याइदिए हुन्थ्यो ।”
क्रिकेट खेलमा तनहुँले पछिल्लो समय प्रगति हासिल गर्न थालेको छ । तनहुँले हालसम्म दुई पटक उपाधि जितेको छ भने एक पटक उपविजेता भएको छ । यस वर्षको सुरुमा तनहुँले बागलुङमा सम्पन्न प्रतियोगितामा विजेता बन्दै रु एक लाख नगद जित्न सफल भएको थियो । त्यस्तै, प्रधानमन्त्री कप क्रिकेट छनोटमा तनहुँ गण्डकी प्रदेशको विजेता बनेको थियो । साथै, केही हप्ता अगाडि गैँडाकोटमा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगितामा तनहुँ उपविजेता बन्न सफल भयो । पछिल्लो नौ खेलमा अपराजित रहेको तनहुँले गैँडाकोटमा भएको मेयर कपको फाइनलमा चितवनसँग मात्रै हार बेहोरेको थियो ।
यसअघि तनहुँले बागलुङलाई दुई, कास्कीलाई एक, नवलपुरलाई दुई, स्याङ्जालाई दुई, पर्वतलाई एक पटक पराजित गरिसकेको छ । तनहुँमा क्रिकेटतर्फ आकर्षण बढेपनि पूर्वाधार अभावका कारण खेलाडीमा निराशा उत्पन्न हुनु स्वभाविक ठान्छन् क्रिकेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठ । तनहुँमा व्यवस्थित क्रिकेट मैदान निर्माण गर्नेतर्फ क्यानले सोचेको श्रेष्ठले बताए ।
“क्रिकेटतर्फ निकै आकर्षण छ, क्रिकेटले नै नेपालको नाम राख्न सफल भएको छ”, श्रेष्ठले भने, “तनहुँमा क्रिकेट मैदान नभएर ठूलो समस्या परिरहेको छ ।” क्रिकेटको विकासका लागि क्यान तनहुँ लागिपरे पनि मैदानकै कारण सोचेजति विकास हुननसकेको श्रेष्ठले बताए ।
तनहुँमा क्रिकेट मैदान निर्माण गर्नुपर्छ भनेर आफूहरुले प्रदेश तथा केन्द्रमा आवाज उठाउँदै आएको श्रेष्ठले बताए । “ठाउँ खोज्न सकिए प्रदेशले मैदान निर्माणमा सहयोग पर्ने प्रतिबद्धता जनाएको छ, व्यास नगरपालिका–५ को मैदानलाई क्रिकेट मैदान बनाउन सकिन्छ की भनेर वडामा पनि कुरा गरिरहेका छौँ”, श्रेष्ठले भने । पाटनको मैदानमा बेलाबेलामा क्रिकेट खेलाइने गरे पनि त्यसलाई दीर्घकालीन रुपमा नै क्रिकेट मैदान बनाउन वडाको तर्फबाट सहमति भए क्यानले त्यहाँ व्यवस्थित खेलमैदान बनाइदिने श्रेष्ठले बताए ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
