बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिका ६ पाखापानीमा दाजुले आफ्नै भाइलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दिपक सिंह बिष्टका अनुसार ४२ वर्षीय विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
प्रहरीका अनुसार दुई दाजुभाइबीच पहिलेदेखि नै विवाद चलिरहेको थियो र बिहीबार राति दुवैले मदिरा सेवन गरेका बेला झगडा शुरु भयो । आपसी झगडा उग्ररूप लिएपछि विष्णुबहादुरले बमबहादुरलाई बन्चरोले हानेका थिए ।
घाइते बमबहादुरलाई स्थानीयले अस्पताल लगिएको थियो, तर प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले राति नै उनको मृत्यु घोषणा गरेको छ । हत्या गरेर भागेका विष्णुबहादुरलाई प्रहरीले राति नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।