Jankari Kendra
२६ कार्तिक २०८३, बुधबार

आज भाइटीका मनाइँदै, बिहान ११ः०७ बजे उत्तम साइत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, २६
आज भाइटीका मनाइँदै, बिहान ११ः०७ बजे उत्तम साइत

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अन्तिम दिन आज देशभर भाइटीका हर्षोल्लासका साथ मनाइँदै छ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिएर पर्व मनाउने परम्परा रहेको छ।

भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिने चलन छ। धार्मिक मान्यताअनुसार यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

परम्पराअनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिने गर्छन्। दिदीबहिनीको सम्मान र पूजा गर्दा अखण्ड सौभाग्य तथा ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वाससमेत रहिआएको छ।

यस वर्ष भाइटीका लगाउन दिनभर नै उपयुक्त रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। टीकाको साइत खोज्नेहरूका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको समितिले जानकारी दिएको छ।

समितिका अनुसार सर्वसाधारणले दिनभर भाइटीका लगाउन सक्नेछन् भने राज्य सञ्चालनको जिम्मेवारीमा रहेका व्यक्तिहरूले भने निर्धारित शुभसाइतमै टीका लगाउनुपर्नेछ। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र आपसी सद्भावलाई प्रगाढ बनाउने भाइटीका नेपाली समाजमा विशेष महत्त्व बोकेको सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।

Top Changing Nepal

युट्युब सट्स