सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर
काठमाडौं । भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।
विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भरपर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका– ५ खावा केराबारीका किसान देवराज राईले बताए । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आएका राईले वार्षिक रूपमा करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
‘अहिले सुन्तलाको मुख्य सिजन हो,’ उनले भने, ‘गाउँभरि सुन्तला बिक्री भइरहेको छ । मैले प्रत्येक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु ।’ यस क्षेत्रका करिब १२० घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको राईको भनाइ छ । सडकका कारण गाउँघरमा फलेको सुन्तला धरान, इटहरी, विर्तामोड, विराटनगर, काठमाडौंलगायतका मुख्य शहर, बजारमा जाने गरेको छ । एकपटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको हो ।
सुन्तला खेती वडाबासीको प्रमुख आम्दानीको स्रोत बनेपछि खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ– ५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिए । उनका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरेर वडाले सहयोग गर्दै आएको छ । वडाध्यक्ष राईले भने, ‘यहाँका किसानले सुन्तलाको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खेती प्रवर्द्धनका लागि वडाले आवश्यक सहयोग गरिरहेको छ ।’
कृषि पकेट कार्यक्रमअन्तर्गत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका विरुवा वितरण गरेको थियो ।
भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्छ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत वर्ष जिल्लामा ६ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । हाल उत्पादन बजारमा बिक्री भइरहेकाले विवरण सङ्कलन भइरहेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज दोस्रो दिन, पहिलो दिन ९ हजार ६६६ ले गरे अवलोकन
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
नेप्सेमा ७ अंकभन्दा बढीको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई स्थान, रैथाने प्रविधिलाई प्राथमिकता
ट्रेन्डिङ
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
२०८३ मंसिर ३ गते बिहिबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
