काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले नामी ०६ ई१ इलेक्ट्रिक एसयूभीलाई दक्षिण अफ्रिकामा लन्च गरेको छ । दक्षिण अफ्रिकामा आएको यो मोडल नेपालसहित केही अन्य बजारमा भने भिगो नामले पनि परिचित छ ।
दक्षिण अफ्रिकामा ब्रान्डको यो तेस्रो मोडल हो भने यसअघि बक्स ह्याचब्याक र ००७ प्रिमियम सेडान बजारमा आइसकेका छन् ।
यो एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ । दुवैमा १२० किलोवाट क्षमताको फ्रन्ट–माउन्टेड मोटर र २३० न्युटन मिटर टर्क रहेको छ, जसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ७.८ सेकेन्ड लाग्ने बताइएको छ । यसको सुरुवाती मूल्य ४ लाख ९९ हजार र्यान्ड तोकिएको छ, जुन हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली ई५र ईएक्स५ भन्दा २ लाख र्याडन्ड कम रहेको जनाइएको छ ।
नामी ०६ ई१ मा ४४.९४ किलोवाट प्रतिघण्टा क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री दिइएको छ । चिनियाँ परीक्षण मापदण्ड अनुसार यसले एक पटकको चार्जमा ४०१ किलोमिटरसम्म रेन्ज दिन्छ भने विश्वव्यापी रूपमा प्रचलित डब्लूएलटीपी मापदण्ड अनुसार करिब ३०० किलोमिटरको रेन्ज उपलब्ध गराउँछ । यसमा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्ने बताइएको छ ।
कम्पनीका अनुसार, उच्च स्पेसिफिकेसन भएको ई३ मोडलको मूल्य ५ लाख ७९ हजार र्यान्ड रहनुका साथै यसमा ५१.८७ किलोवाट प्रतिघण्टा क्षमताको ठूलो ब्याट्री दिइएको छ, जसले रेन्जलाई ४७१ किलोमिटर (सीएलटीसी) वा डब्लूएलटीपी मापदण्ड अनुसार करिब ३५० किलोमिटरसम्म पुर्याउँछ । यसमा १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १८ मिनेट मात्र लाग्छ । एसी चार्जिङका लागि भने यसले ६.६ किलोवाटसम्म सपोर्ट गर्छ ।
यो एसयूभीमा १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६–स्पिकर अडियो सिस्टम, ५० वाट वायरलेस फोन चार्जर, रियर–भ्यु क्यामेरा, पार्किङ सेन्सर, कर्टेन एयरब्यागसहित ६ वटा एयरब्याग, अटोमेटिक एयर कन्डिसनिङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेदरेट सिट, हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ब्रेक असिस्ट, ट्र्याक्सन कन्ट्रोल तथा ५०० लिटर बुट स्पेसजस्ता सुविधाहरू रहेका छन् ।
डोङफेङ दक्षिण अफ्रिकामा धेरै परिचित चिनियाँ ब्रान्ड नभए पनि यो चीनका चार ठूला सरकारी स्वामित्वका अटो कम्पनीमध्ये एक हो । कम्पनीले हालै निसानसँग संयुक्त साझेदारी गरेको छ, जसले अन्तर्राष्ट्रिय बजार र कार पारखीहरूमा यसको विश्वसनीयता अझ बढाउने अपेक्षा गरिएको बताइएको छ ।
पेट्रोल र डिजेलको मूल्य बढ्दै जाँदा दक्षिण अफ्रिकासहित विश्वभर विद्युतीय सवारीसाधनप्रति पुनः आकर्षण बढिरहेको छ । पछिल्ला केही वर्षमा दक्षिण अफ्रिकामा कारका विभिन्न विद्युतीय मोडलहरू आए पनि सर्वसाधारणले सहज रूपमा किन्न सक्ने मूल्यमा आएको यो पहिलो मोडल रहेको जनाइएको छ ।
कम खर्चमै विद्युतीय सवारी प्रयोग गर्न सकिने सन्देश दिने डोंगफेंग नामी ०६ ई१ दक्षिण अफ्रिकाको ईभी बजारले प्रतिक्षा गरेको बजेटमैत्री विकल्प बन्न सक्ने देखिएको बताइएको छ।


