राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजना तथा प्रहरी प्रधान कार्यालय कम्प्युटर निर्देशनालयको संयोजकत्वमा एक दीवसीय इ–लर्निङ वर्कशप बिहिबार सोही प्रतिष्ठानमा सम्पन्न भएको छ ।
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार उक्त प्रतिष्ठानले प्रशिक्षण बिकास कार्ययोजना २०७३ (Shifting the Focus of Training (ShiFT) मा निर्दिष्ट भए अनुसार प्रशिक्षणलाई तालिम आवश्यकता र सेवा विशिष्टिकरणको अवधारणा बमोजिम प्रशिक्षण प्रणाली बिकास कार्य अगाडि बढाइरहेको सन्दर्भमा यस आर्थिक वर्षदेखि उपयुक्त तालिमहरु इ–लर्निङको माध्यमबाट कार्यान्वयन गर्ने नीति अनुरुप उक्त वर्कशपको आयोजना गरिएको हो ।
उक्त वर्कशपका प्रमुख अतिथि सो प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले वर्कशप समापन गर्दै वर्कशपबाट हासिल भएका इ–लर्निङ सम्बन्धी ज्ञान, सीपबाट संगठनको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताउनुभयो । यस वर्कशपमा भएका छलफल तथा अन्तरक्रियाबाट प्राप्त निष्कर्षको आधारमा कम्प्युटर निर्देशनालयसँग समन्वय गरी आगामी कार्य योजना बनाईने उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी प्रधान कार्यालय, कम्प्युटर निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शिला कंसाकार कार्कीले प्रहरी कर्मचारीहरुलाई स्तरीय एवं विशिष्टीकृत तालिम प्रदान गर्न उपयुक्त प्रविधिको प्रयोगबाट मात्र सम्भव हुने देखिएकोले ई–लर्निङको माध्यमबाट आवश्यकता अनुसारको तालिम गराइने संगठनको नीति अनुरुप वर्कशपको आयोजना गरिएको जानकारी दिनुभयो । वर्कशपले नयाँ प्रविधिको जानकारी दिनुको साथै यससँग सम्बन्धीत चुनौतीको सामना गर्न आवश्यक सीप, कौशल र क्षमता अभिबृद्धि गर्न मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
वर्कशपमा We4 Technology का प्रभाकार घिमिरे तथा प्रकाश डोटेल, शास्त्र नेटवर्कका किशोर पन्त, कम्प्युरतर्फका प्रहरी नायव निरीक्षक अरुण सहनीले ई–लर्निङ सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
ई–लर्निङ सम्बन्धी विविध विषयमा छलफल तथा अन्तरक्रिया भएको उक्त वर्कशपमा प्रहरी बरिष्ठ उपरीक्षक सुनिलकुमार श्रेष्ठ, प्रहरी उपरीक्षक अरुणकुमार भण्डारी, प्रहरी उपरीक्षक नबिन्द अर्याल लगायत प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी आवासिय उच्च माबि काभ्रे तथा नेपाल प्रहरी स्कुल सामाखुशीमा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।
इ–लर्निङ वर्कशप सम्पन्न
इ–लर्निङ वर्कशप सम्पन्न

तपाईको प्रतिक्रिया






