नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गरेको छ। कम्पनीले हाल ७.२ मिटर लम्बाइका दुईवटा बस मोडल सार्वजनिक गरेको जनाएको छ।
कम्पनीका अनुसार, सार्वजनिक गरिएका बसमध्ये एउटा २५+१ सिट र अर्को २७+१ सिट क्षमताको रहेको छ। यी बसहरूको प्रारम्भिक मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ। साथै, अटो एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई ५ लाख रुपैयाँ विशेष छुटको व्यवस्था गरिएको बताइएको छ।
डोङफेङ मोटर कर्पोरेसन सन् १९६९ मा स्थापना भएको चीनको प्रमुख अटोमोबाइल उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी, विशेष प्रयोजनका सवारी तथा अटोमोबाइल पार्टपुर्जाहरू उत्पादन गर्दै आएको जनाएको छ।
पाँच दशकभन्दा लामो अनुभव बोकेको डोङफेङले गुणस्तर, सुरक्षा, विश्वसनीयता र आधुनिक प्रविधिका कारण अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको कम्पनीको दाबी रहेको छ । कम्पनीका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व तथा दक्षिण अमेरिकालगायत १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन्। नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू बिक्री हुँदै आएकाले नयाँ बस मोडलले थप बजार विस्तार गर्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ।

हिमालय अर्गनाइजेशनअन्तर्गतका कम्पनीहरूले विगतदेखि नै भारतको फोर्स मोटर्स तथा चीनको एसएआइसी समूहअन्तर्गतको म्याक्सस का सवारी साधन नेपालमा आधिकारिक रूपमा बिक्री गर्दै आएका छन्। नेपाल सरकारले ठूला विद्युतीय बसलाई प्राथमिकता दिन थालेको र नेपाली बजारमा पनि ठूला क्षमताका विद्युतीय बसको माग बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै डोङफेङका बसहरू नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ।
सार्वजनिक गरिएका बसमा ग्राहकको आवश्यकताअनुसार थप एसी,लक्जरी सिट तथा एक वा दुईवटा प्रवेशद्वार जडान गर्न सकिने व्यवस्था रहेको बताइएको छ। बसमा हाल एक प्रवेशद्वार रहेको भए पनि ग्राहकको मागअनुसार थप एक प्रवेशद्वार जडान गर्न सकिनेछ। दुईवटा प्रवेशद्वार राख्दा दुई सिट घट्ने कम्पनीले जनाएको छ। बसमा ५ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी दिइएको छ भने ग्राहकले थप शुल्क तिरेर तीन वर्षको एक्सटेन्डेट वारेन्टी समेत लिन सक्नेछन्।
कम्पनीले निकट भविष्यमा डोङफेङका ८.२ मिटरका स्कुल बस, ९ मिटरका ३८ सिट क्षमताका बस तथा १२ मिटरका ५२ सिट क्षमताका बस पनि नेपाल ल्याउने तयारी गरेको बताएको छ। ती बसहरूको मूल्य तथा अन्य प्राविधिक विवरण पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ। आगामी दिनमा सार्वजनिक हुने बसहरू नेपालमा उपलब्ध अन्य ब्रान्डका तुलनात्मक मोडलभन्दा निकै प्रतिस्पर्धी मूल्यमा ल्याउने दाबीसमेत कम्पनीले गरेको छ।
यसले नेपाली बजारमा नयाँ विकल्प थपिनुका साथै ग्राहकहरूमा उत्साह र कौतुहलता बढाएको छ। एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको योजना समेत ल्याइएको कम्पनीले जनाएको छ। बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्सको उपलब्धता हिमालय अर्गनाइजेशनअन्तर्गत नेपालका विभिन्न सहरमा रहेका शाखा तथा डिलरमार्फत सुनिश्चित गरिने बताइएको छ।

सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

